Breaking News
उपराष्ट्रपति पदमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं , चैत ३ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

३० हजार ३२८ मतभार पाएर यादव उपराष्ट्रपति निर्वाचित हुँदा एमालेकी शाक्यले १६ हजार ३२८ र जनमत पार्टीका झाले २ हजार ५३७ मत पाइन् । जसपाकै प्रमिला यादवलाई एक जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।

एमालेकी शाक्य बाहेक अरु उम्मेदवार सत्तारुढ गठबन्धनका नेताहरु हुन् । तर सत्तारुढभित्र ठूला दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाकै मत पाएर रामसहाय उपराष्ट्रपति निर्वाचित भए । प्रमिलाले उम्मेदवारी दिए पनि रामसहायलाई नै समर्थन गरिसकेकी थिइन् ।

जनमत पार्टीकी ममताले पनि राम्रै मत ल्याइन् । १२४२ मतभार रहेको जनमतकी ममतालाई साना दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले खुलेर समर्थन जनाएका थिए । शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ममतालाई मत दिने निर्णय लिएको थियो । तर यी दलहरुका सबै सांसदको मत ममतालाई गएन ।

किनकि रास्वपा बाहेक लोसपा, नाउपा र जनमत पार्टीका सबै सांसदको मतभार २ हजार ८३४ हुन्छ । लोसपासँग ८२७, नाउपासँग ७६५ र जनमतसँग एक हजार २४२ मतभार छ । यसमा रास्वपाको एक हजार ५८० मतभार थप्ने हो भने ममताले ४ हजार ४१४ मतभार पाउनुपर्थ्याे । तर त्यसको आधा पनि ममताले पाइनन् ।

यसको साटो एमालेकी शाक्यले पार्टीको भन्दा १ हजार ४७ मतभार बढी पाइन् । एमालेको पार्टी मतभार १५ हजार २८१ मात्रै रहेकाले सत्तारुढ गठबन्धनबाटै मत गएको प्रष्ट हुन्छ । किनकि एमालेलाई मत दिने संभावना रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान प्रक्रियामै भाग लिएको थिएन ।

त्यसो हुँदा १० दलीय सत्ता गठबन्धनकै मत शाक्यले पाइन् । यो अवस्था आउनुको कारण भने सत्तारुढबीच उपराष्ट्रपतिबारे साझा मत बन्न नसक्नु हो । यदि एकताबद्ध निर्णय हुन्थ्यो भने राष्ट्रपतिमा रामचन्द्र पौडेलले पाएको मत रामसहायले पनि पाउन सक्थे ।


राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मत पाउँदा रामचन्द्र पौडेलले ३३ हजार ८०२ मत ल्याएर जितेका थिए । तर जसपाका रामसहायलाई स्वीकार्न सत्तारुढमै आवद्ध साना दलहरु तयार भएनन् । त्यहीकारण गठबन्धनबाटै एकभन्दा बढी उम्मेदवार बन्यो भने एमालेकी उम्मेदवारले मतभार बढाउने परिस्थिति सिर्जना भयो । यद्यपि, रामसहाय उपराष्ट्रपति निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका सबैभन्दा ठूलो दल, कांग्रेसका महामन्त्री गगन थपा आफूले उपराष्ट्रपतिमा एउटै उम्मेदवार तय गरेर सकारात्मक सन्देश दिन नसकेको स्वीकार्छन् । तर यही कारण सरकार सञ्चालनमा समस्या नआउने उनको दाबी छ । ‘उपराष्ट्रपतिको चुनावमा उम्मेदवार एउटा बनाउने हाम्रो कोसिस रह्यो । तर सरकार, सरकारको निरन्तरता र विश्वासको मत दिने कुरामा हामी एक ठाउँमा रहन्छौं’, महामन्त्री थापा भन्छन् । साभार :- अनलाइन खबर

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*