आरएन पटेल । ६ असार २०८१ ।
गरुडा नगरपालिकाको ११औं नगर सभा भब्यताका साथ सम्पन्न भएको छ । रौतहटको मध्य भागमा पर्ने गरुडा नगरपालिकाले आज बिहीबार “समृद्ध नगर, खुसि नगरबासी” भन्ने मुल नाराका साथ आफ्नो नगर सभाको ११ औं अधिवेशन तथा ८ औं बजेट अधिवेशन सम्पन्न हो ।
नगर सभाका विशिष्ट अतिथि गरुडा नगरपालिकाको नगर उप प्रमुख पूनम कुमारी चौधरीले गरुडा नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को संसोधित बजेट, निति तथा कार्यक्रम एवं योजनाहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरु नगर प्रमुख कन्थमणी प्रसाद कलवारले पारित गर्नु भएको हो ।
नगर सभाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि करिब ७० करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार आय व्यय सहितको बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल द्वारा दिप प्रज्वलन गरी ११ औं नगर सभाको उद्धघाटन गरिएको थियो ।
नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै नगरपालिकाको नगर उप प्रमुख पुनम चौधरीले पालिकाको चौतर्फी विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक, उधोग, रोजगारी, लघु उधम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्ग, दलित, पिछडिएका वर्ग लगायत पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएकी छिन । नगर सभाको ११ औं अधिवेशन तथा ८ औं बजेट अधिवेशन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत, पालिकाको १ देखी ९ नम्बर सम्मको सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, जनप्रतिनिधि, सम्पूर्ण कार्यपालिका सदस्य, पालिकाका कर्मचारीगण, विभिन्न राजनैतिक क्षेत्रका राजनीतिककर्मी, पार्टी प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीहरु लगायत स्थानिय नगरवासीहरुको ठुलो जन सहभागीता रहेको थियो ।