जनकपुरधाम,
साउन २३ गते ।
मधेस प्रदेशमा जम्बो मन्त्रीपरिषद गठन गरिएको बिरोधमा जनता समाजवादी पार्टी नेपाल समाजवादी युवा संघका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन । मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रीपरिषद गठन गरिएको भन्दै समाजवादी युवा संघले बिरोध प्रदर्शन गरेको हो ।
समाजवादी युवा संघका मधेस उपाध्यक्ष कमलेश यादवको अगुवाई जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको बिरोध प्रदर्शनमा कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए ।
समाजवादी युवा संघ मधेस प्रदेशका उपाध्यक्ष यादवले संघियतामाथी नै प्रहार हुने गरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रीपरिषद बनाउनु मधेसवासीलाई सह्य नहुने बताए । उनले जनमत चुनावअघि ठूल ठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिएपनि अहिले आएर एमाले कांग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए । उनले कानूनी रुपमा कुल प्रदेशसभा सदस्य संख्याको २५ प्रतिशतको संख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहेपनि मधेस जस्तो कमजोर आर्थिक स्थिति रहेको प्रदेशमा जम्बो मन्त्री परिषद गठन गर्नु गलत रहेको बताए ।
यता समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कापरले मन्त्रीपरिषदलाई सानो आकारको बनाउन आग्रह गरे । हाम्रो आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणबद्ध रुपमा जारी राख्ने चेतावनी दिएका छन ।