काठमाडौँ, भदौ २७ गते।
राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकी छिन। मुलुकमा उत्पन्न विषम र असाधारण परिस्थितिलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ऐतिहासिक निर्णय गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ।

युवा पुस्ताले प्रकट गरेका आकाङ्क्षा, राजनीतिक दलहरूसँगको परामर्श र संविधानको पालना एवं राष्ट्रिय एकताको संरक्षणलाई आधार मानेर राष्ट्रपतिले संविधान प्रदत्त अधिकार प्रयोग गर्दै यस्तो कदम चाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संविधानले तोकेको व्यवस्थाअनुसार आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
आजै राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

यसअघि मुलुकको न्यायपालिका नेतृत्व गरिसकेकी सुशिला कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीशको हैसियतले चर्चामा रहनुभएकी थिइन्। अब उहाँलाई अन्तरिम सरकार प्रमुखको जिम्मेवारी दिइनु मुलुकको राजनीतिक यात्रा एक निर्णायक मोडमा प्रवेश गरेको संकेतका रूपमा हेरिएको छ।
Sthaniya News
