आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई आज सिमरा विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य रूपमा स्वागत गरेका छन् ।
बारा जिल्लाको सिमरा विमानस्थलमा ओर्लिएलगत्तै अध्यक्ष ठाकुरलाई स्वागत गर्न ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरूले माला, अबिर र नाराबाजी सहित आत्मीय स्वागत गरेका हुन् । स्थानीय नेता तथा समाजसेवीहरूको समेत बाक्लो उपस्थिति रहेको स्वागत समारोहमा उत्साहजनक वातावरण देखिएको थियो ।
अध्यक्ष ठाकुरले मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट तथा संगठन सुदृढीकरणको उद्देश्यसहितको दौरा सुरु गर्न लागेका छन् । लोसपाको केन्द्रीय कार्यालय, बबरमहलले एक परिपत्रमार्फत कार्यतालिका सार्वजनिक गरिएकाे थियो ।
अध्यक्ष ठाकुरको दौरा असोज २४ गते (शुक्रबार) पर्सा जिल्लाबाट सुरु हुँदै आगामी केही दिनभित्रै मधेशका सात जिल्लामा कार्यकर्ता समावेश गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका यस्तो रहेको छ ।
असाेज २४ गते (शुक्रबार) पर्सा साँझ ४ बजे,२५ गते शनिबार बारा बिहान ९ बजे र दिउँसो २ बजे,२६ गते
आइतबार रौतहट दिउँसो २ बजे,२७ सोमबार सर्लाही दिउँसो २ बजे,२८ गते मंगलबार,धनुषा बिहान ९ बजे,२८ गते मंगलबार महोत्तरी दिउँसो २ बजे,२९ गते बुधबार सिरहा बिहान १० बजे र २९ गते बुधबार सप्तरी दिउँसो ३ बजे कार्यक्रमकाे तालिका रहेको छ ।
पार्टीका महासचिव ई. ज्ञानेन्द्र कुमार झाद्वारा हस्ताक्षरित परिपत्रमा जिल्ला, प्रदेश र केन्द्रीय समिति समक्ष उक्त कार्यक्रम सफल पार्न आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।
पार्टीले अध्यक्ष ठाकुरको यो दौरा मधेशको राजनीतिक अवस्था, संगठनात्मक संरचना तथा पहिचान, संघीयता र लोकतान्त्रिक समाजवादका सन्देशलाई जनस्तरसम्म पुर्याउने अभियानको रूपमा लिएको छ ।
कार्यक्रमहरूमार्फत स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै संगठन सुदृढ बनाउने रणनीति लोसपाले लिएको बताइएको छ ।
Sthaniya News
