Breaking News
युवाहरूको पहलमा शिवनगरधाम मन्दिर परिसरमा सरसफाई

युवाहरूको पहलमा शिवनगरधाम मन्दिर परिसरमा सरसफाई

रौतहट, कार्तिक ०१ गते।

युवाहरूको पहलमा रौतहटको शिवनगरधाम मन्दिर परिसरमा सरसफाई अभियान सञ्चालन गरिएको छ। सामाजिक सहानुभूति र स्वच्छता अभियानलाई प्रवद्र्धन गर्दै रौतहटका युवाहरूले शनिबार शिवनगरधामस्थित प्रसिद्ध शिवमन्दिर परिसरमा व्यापक सरसफाई अभियान सञ्चालन गरेका छन् । “भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि, नयाँ नेपालको नक्सा आफैंले कोरौं” भन्ने मूल नाराका साथ रौतहट जेनजी युवा समूह, गरुडाको आयोजनामा बिहान ८ बजेदेखि ११ बजेसम्म मन्दिर भित्र र बाहिर सरसफाई गरिएको थियो ।उक्त अभियानमा समुदाय प्रहरी साझेदारी शिवनगर, इलाका प्रहरी कार्यालय गरुडा, अस्थायी ट्राफिक प्रहरी कार्यालय गरुडा, सशस्त्र प्रहरी बल दुधियाभार लगायत स्थानीय सरोकारवाला निकायहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

युवाहरूले मन्दिर परिसरमा जम्मा भएको फोहर, प्लास्टिक र धुलोमाटो हटाई वातावरण स्वच्छ बनाएका थिए ।कार्यक्रमको अध्यक्षता सामाजिक अभियन्ता शैलेन्द्र यादवले गरेका थिए । उनले रौतहट जेनजी युवाहरूले सामाजिक रुपान्तरणका विभिन्न लक्ष्य र योजनाहरू अगाडि बढाउँदै चरणबद्ध रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिए । यादवले भने, “हाम्रो उद्देश्य केवल मन्दिर सफा गर्नु मात्र होइन, घरदेखि विद्यालयसम्म स्वच्छता र अनुशासन फैलाउने पनि हो ।

यस किसिमका कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ ।”यादवका अनुसार शिवनगरधाम मन्दिर रौतहट मात्र नभई आसपासका जिल्लाहरूका श्रद्धालुहरूका लागि पनि अत्यन्त पवित्र स्थल हो । यहाँ दैनिक सयौं भक्तजन पूजाआजा गर्न आउने भएकाले यस क्षेत्रलाई स्वच्छ र आकर्षक राख्नु सबैको जिम्मेवारी भएको उनले बताए । उनले थपे, “लक्ष्मीपूजा र आउँदै गरेको आस्थाको पर्व छठ माताको शुभ अवसरमा यो सरसफाई अभियानको थालनी गरिएको हो ।

हाम्रो उद्देश्य धार्मिक सम्पदा संरक्षण, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्वको सन्देश दिनु हो ।”रौतहट जेनजी युवाहरूले आगामी दिनहरूमा जिल्लाभर सामाजिक, शैक्षिक र वातावरणीय सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन् । उनीहरूले युवा पुस्तालाई सक्रिय, उत्तरदायी र राष्ट्रनिर्माणमा संलग्न बनाउने दाबी गरेका छन् । यस अभियानले स्थानीय बासिन्दा र भक्तजनहरूमा सरसफाई र सामाजिक जिम्मेवारीप्रति जागरुकता बढाएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा स्थानिय युवा सहित मन्दिरलाई माया प्रेम स्नेह राख्ने युवाहरुले सहभागिता जनाएका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*