Breaking News
जातपात र भय त्रासको राजनीति गर्ने प्रभु साहको राजनीतिक पतन हुने निश्चित – एमाले नेता कुन्दन कुशवाहा

जातपात र भय त्रासको राजनीति गर्ने प्रभु साहको राजनीतिक पतन हुने निश्चित – एमाले नेता कुन्दन कुशवाहा

स्थानीय न्यूज
रौतहट, कार्तिक ०७ गते ।
नेकपा (एमाले) रौतहट क्षेत्र नं. ३ द्वारा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम पेटभर्वामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले उपस्थित जनसमूहलाई सम्बोधन गर्दै हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बितेको बडादशैं, शुभ दीपावली तथा आउदै गरेको लोकआस्थाको महापर्व छठको शुभकामना व्यक्त गरे।
उनले रौतहट क्षेत्र नं. ३ मा अहिलेसम्म भय र त्रासको राजनीति हाबी रहेको बताउँदै, यहाँका संघीय सांसद प्रभु साहले जनताको विश्वाससँग धोका गर्दै बारम्बार ठगीको राजनीति गरेको आरोप लगाए। जातपात र भय त्रासको राजनीति गर्ने माननीय प्रभु साहको राजनीति पतन हुने निश्चित रहेको नेता कुन्दन कुशवाहाले दाबी गरेका छन ।


कुशवाहाले भने, “स्मार्ट सिटी र प्रतिष्ठानको नाममा जनतालाई मृगतृष्णा देखाउने र आफ्नो आसेपासे मात्रै धनी बनाउने प्रवृत्तिले यहाँको विकास रोकिएको छ।”
उनका अनुसार माओवादी द्वन्द्वकालदेखि अहिलेसम्म जिल्लाका थुप्रै घटनामा साहको संलग्नता देखिँदै आएको र जनतालाई जालझेलमा पारेर स्वार्थसिद्धि गर्ने प्रवृत्तिले राजनीतिक नैतिकता गुमाएको उल्लेख गरे।

कार्यक्रमका विशिष्ट अतिथि, पूर्व राज्यमन्त्री नागेन्द्र यादवले अब रौतहट क्षेत्र नं. ३ मा जातपात र विभाजनको राजनीति अन्त्य भई विकास र एकताको राजनीति अघि बढ्ने बताए।
त्यस्तै, एमाले नेता उपेन्द्र साहले नैतिकता गुमाएका नेताहरूको विरोध गर्दै भने, “संविधानलाई गाली गर्ने र त्यसकै आधारमा चार पटक मन्त्री पद उपभोग गर्नेहरूबाट देशले केही आशा गर्न सक्दैन।”
कार्यक्रममा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानू, फतुवा विजयपुर नगरपालिकाकी पूर्व उपप्रमुख कान्ति देवी, एमाले नेता मनोज यादव लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो।

एमाले क्षेत्र नं. ३ द्वारा आयोजित यस शुभकामना तथा भेटघाट कार्यक्रममा जनता-पार्टीबीचको सम्बन्ध सुदृढ पार्ने, सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने र सहकार्यका नयाँ मार्गहरू खोज्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमले स्थानीय स्तरमा एकता, मित्रता र सद्भावना प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा आयोजक पक्षले उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सबैको सुस्वास्थ्य, समृद्धि र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी, युवा, पत्रकार र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*