आरएन पटेल
रौतहट, कार्तिक ०८ गते।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहटले हिन्दूहरूको महान पर्व दीपावली तथा लोक आस्थाको महापर्व छठको अवसरमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम रौतहट उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजिव रञ्जन यादवले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष पारस कुमार भण्डारीले प्रस्तुत गर्नुभएको थियो।
शुभकामना मन्तव्यका क्रममा युवा नेता राजाबाबु साह, युवा नेता बिवेक यादव, राजकुमार दास, गरुडा नगरपालिकाका मेयर प्रत्याशी अनिल यादव, पूर्व मेयर बिरेन्द्र यादव, समाजवादी युवा संघका महासचिव दिलीप कुमार पटेल, पूर्व राज्यमन्त्री योगेन्द्र यादव, धर्मेन्द्र पटेल र निर्वाचन आयोग अध्यक्ष विश्वनाथ पटेललगायतका नेताहरूले आ-आफ्ना विचार व्यक्त गर्दै दीपावली र छठ पर्वले ल्याउने धार्मिक सहिष्णुता, सद्भाव र एकताको सन्देशलाई जोड दिएका थिए।

उक्त अवसरमा वक्ताहरूले जसपा नेपालले देशमा सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै मधेशमा समावेशी विकास र राजनीतिक स्थायित्वका लागि सबैले साझा प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी, व्यापारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्त्यमा जिल्ला अध्यक्ष यादवले सबै सहभागीलाई पर्वको शुभकामना दिँदै राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक समृद्धिको मार्गमा सबै मिलेर अघि बढ्न आह्वान गर्नुभयो।
Sthaniya News
