आरएन पटेल, रौतहट, मंसिर १६ गते।
जेन्जी युवाहरुको अभियानअन्तर्गत युवा नेतृत्वको सक्रियतामा रौतहट जिल्ला संयोजक सोनू कुशवाहाद्वारा परोहा नगरपालिकाका विभिन्न विद्यालयहरुको दोस्रो चरणको अनुगमन सम्पन्न गरिएको छ।
संयोजक कुशवाहा नेतृत्वको टोलीले आज परोहा नगरपालिकाभित्रका धेरै विद्यालयमा पुगेर पठन–पाठन, विद्यालयको वातावरण, भौतिक पूर्वाधार तथा विद्यार्थीलाई आवश्यक पर्ने सेवा-सुविधाको अवस्थाबारे विस्तृत अध्ययन गरेको छ। अनुगमनका क्रममा टोलीले पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफूज अहमदसँग समन्वय बैठकसमेत गरेको थियो।
परोहा नपा कार्यालय प्रमुख अहमदले टोलीसँगको छलफलमा विद्यालयका तत्काल आवश्यक सामग्री तथा पूर्वाधार सुधारका विषयलाई प्राथमिकताका साथ अघि बढाइने आश्वासन दिए। उनले स्थानीय सरकार विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै युवा समूहले उठाएका सुझावहरू अत्यन्तै उपयोगी भएको बताए।
अनुगमन टोलीले वडा नं. ३ स्थित तेजापाकड स्वास्थ्य चौकी, मा.वि. तेजापाकड, अन्होतीलाल मा.वि. बसन्तपट्टी, आधारभूत विद्यालय भेड़ियाही, प्रा.वि. नमनगरा र श्री ओम मा.वि. नरकटिया लगायतका शैक्षिक संस्थामा अवलोकन गरेको थियो।
दोस्रो चरणको अनुगमनमा अघिल्लो अवलोकनको तुलनामा विद्यालय परिसर तथा कक्षाभित्र सरसफाइमा उल्लेखनीय सुधार भेटिएको संयोजक कुशवाहाको भनाइ छ। तर अझै पनि पर्याप्त सुधार आवश्यक रहेको भन्दै उनले युवा नेतृत्व तथा स्थानीय सरकार मिलेर थप प्रभावकारी कार्यक्रम अघि सारिने बताए।
कुशवाहाको नेतृत्वमा भइरहेको निरन्तर अनुगमनले विद्यालय शिक्षा, वातावरण र आधारभूत पूर्वाधार सुधारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
कुशवाहा र उनकाे टिमले विद्यालय सुधारका लागि आवश्यक कदमहरू निरन्तर अघि बढाइने बताउँदै स्थानीय तह र विद्यालय व्यवस्थापनबीचको समन्वय अझै बलियो बनाउन आग्रह गरेका छन् ।
अनुगमनका क्रममा कुशवाहाका सहयोगी जितेन्द्रराज प्रजापति,पवन पटेल,सागर गुप्ता,सचिन्द्र यादव, जयचन्द्र कुशवहा लगायत जेनजी युवाहरूकाे सहभागीता रहेको थियो ।
Sthaniya News
