रौतहट, मंसिर १७ गते।
सीमावर्ती भारतीय क्षेत्रबाट नेपालमा नक्कली नोटको कारोबार भइरहेकै अवस्थामा प्रत्यक्ष प्रमाणसहित तीन जना पक्राउ परेका छन्। भारत – नेपाल सीमा हुँदै अवैध रूपमा नक्कली नोट भित्र्याउने प्रयासमा रहेका ती व्यक्तिहरूसँग एक लाख रुपैयाँभन्दा बढी बराबरका नक्कली नेपाली रुपैयाँ फेला परेपछि रौतहटमा चलिरहेको अवैध कारोबारको भण्डाफोर भएको हो।

मंगलबार साँझ करिब ४ बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष टोलीले ईशनाथ नगरपालिका-४ लतमरी नजिक बीआर-०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण कुण्डवा चैनपुरका २३ वर्षीय जय प्रकाश कुमार, देवाही गोनाही नपा-४ रौतहट बस्ने २१ वर्षीय गेनालाल राउत र देवाही गोनाही-४, रौतहटका २० वर्षीय अजय पटेल रहेका छन्।

उनीहरूको साथबाट एक हजार दरका ११८ थान नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ।
डिएसपी बस्यालका अनुसार नक्कली नोटको प्रिन्ट तथा सप्लाई चेन कहाँबाट सञ्चालन भइरहेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी थप कडा पारेको जनाएको छ।
Sthaniya News
