स्थानीय न्यूज, रौतहट, पौष १३ गते।
संघीय सरकारले करदाता सेवा कार्यालय गौर खारेजी गरी सिमरा सार्ने निर्णय गरेको विरोधमा रौतहट उद्योग वाणिज्य संघको आयोजनामा धर्ना कार्यक्रम सम्पन्न भएको छ। उक्त धर्नामा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेश प्रदेश सरकारको पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव सहभागी भई ऐक्यबद्धता तथा समर्थन जनाउनुभएको छ।

धर्ना कार्यक्रममा बोल्दै नेता यादवले करदाता सेवा कार्यालय गौरबाट सिमरा सार्ने निर्णयले रौतहटका सेवाग्राहीहरूलाई गम्भीर दुःख, असुविधा र अतिरिक्त आर्थिक भार पर्ने बताउनुभयो। उहाँले सेवाग्राहीलाई प्रत्यक्ष असर पार्ने यस प्रकारका निर्णयहरू कदापि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
उहाँले गौरबाट सिमरा सार्ने कार्यले समय, यातायात खर्च र अन्य आर्थिक बोझ बढाएर सेवाग्राहीलाई शोषण गर्ने संघीय सरकारको नीतिको रूपमा देखिएको भन्दै यसको घोर विरोध आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
धर्ना कार्यक्रममा उद्योगी, व्यापारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले करदाता सेवा कार्यालय गौरमै कायम राख्न सरकारसँग माग गर्दै आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन।
Sthaniya News
