Breaking News
राजपुर नपामा विपद् पूर्वसूचनाका लागि आधुनिक साइरन सेट स्थापना

राजपुर नपामा विपद् पूर्वसूचनाका लागि आधुनिक साइरन सेट स्थापना

स्थानीय न्यूज,राैतहट,पौष १७ गते । 
रौतहटको राजपुर नगरपालिकाको प्रशासकीय भवनको छतमा स्वचालित साइरन सेट (Automated Siren Set) जडान गरिएको छ । आपतकालीन सूचना प्रवाह, विपद् पूर्वसूचना तथा समुदायको सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त साइरन जडान गरिएको हो । यो प्रणाली रेन  परियोजनाको सहयोगमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
स्वचालित साइरन प्रणालीमार्फत विभिन्न प्रकारका जोखिम र आपतकालीन अवस्थाका लागि फरक–फरक आवाज (सिग्नल) प्रयोग गरिनेछ । प्रणालीमा चराको आवाज, ध्यानाकर्षण, एकाग्रता लगायतका संकेत समावेश छन् । यसैगरी बाढी, जनावर आक्रमण, आगलागी, मेघगर्जन/चट्याङ तथा पहिरो जस्ता विपद् संकेतका लागि छुट्टाछुट्टै साइरन कोड निर्धारण गरिएको छ । नगरपालिकाका अनुसार “एक नम्बर, एक आवाज – सयौंको सुरक्षा” भन्ने अवधारणाअनुसार यो प्रणाली सञ्चालन गरिनेछ ।
साइरन सक्रिय गर्न नगरपालिकाले मेसेज बक्स खोल्ने, नम्बर डायल गर्ने तथा एस.एम.एस. पठाउने जस्ता सुविधासमेत व्यवस्था गरिएको जनाएको छ । यसले आकस्मिक अवस्थामा छिटो सूचना प्रवाह भई नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
नगर प्रमुख डा. राजिक आलमले विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणाली अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै राजपुर नगरपालिका जोखिमयुक्त क्षेत्र भएकाले स्वचालित साइरन समयमै सूचना दिन प्रभावकारी हुने बताए । “साइरन बजाउनुहोस् र जीवन बचाउनुहोस् भन्ने सन्देशसहित यो प्रणाली लागू गरिएको हो,” उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले यो प्रणाली नगरको समग्र विपद् जोखिम न्यूनीकरण योजनाको महत्वपूर्ण हिस्सा भएको बताए । उनले रेन परियोजनाको सहयोगमा स्थापना भएको प्रणालीको नियमित परीक्षण, सञ्चालन र नागरिकलाई साइरन संकेतबारे जानकारी गराइने जानकारी दिए ।
नगरपालिकाले आगामी दिनमा वडा स्तरसम्म यस्ता पूर्वसूचना प्रणाली विस्तार गर्न जानकारहरूले सुझाव समेत दिएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*