आरएन पटेल, रौतहट, पौष २४ गते ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको १२ औँ हिउँदे अधिवेशन आज भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
ईशनाथ नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरसभा सदस्यहरू, वडा अध्यक्षहरू तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थितिमा पालिकाको १२ औँ हिउँदे अधिवेशन भव्य समारोहका बीच सम्पन्न भएको छ।

अधिवेशनका क्रममा नगरपालिकाको चालु आर्थिक वर्षको प्रगति समीक्षा गरिएको साथै आगामी दिनमा सञ्चालन गरिने विकास योजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई थप चुस्त- दुरुस्त बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
त्यसैगरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सरसफाइ, सामाजिक सुरक्षा, कृषि तथा स्थानीय रोजगारी सिर्जनासँग सम्बन्धित विभिन्न प्रस्तावहरू प्रस्तुत भई छलफलपछि आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।

अधिवेशनले नगरको समग्र विकास र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै जनअपेक्षाअनुसार पारदर्शी, उत्तरदायी तथा प्रभावकारी स्थानीय शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Sthaniya News
