स्थानीय न्यूज, काठमाण्डौ, माघ ०४ गते।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाही जिल्लाका दर्जनौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन।

आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित विशेष कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित विभिन्न तहका नेता तथा कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा र मालाले स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो।
मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका रामेश्वर राय यादवसँगै सर्लाही क्षेत्र नं. ३ अन्तर्गत चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष बिक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा आबद्ध भएका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले मधेश, लोकतन्त्र र सामाजिक न्यायका मुद्दामा दृढतापूर्वक उभिने शक्तिका रूपमा जसपा नेपाललाई मजबुत बनाउने अभियानमा नयाँ साथहरूले पार्टीलाई थप ऊर्जा मिलेको बताउनुभयो।
नवप्रवेशी नेताहरूले देशको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै मधेशी जनताको अधिकार, पहिचान र समावेशी लोकतन्त्रका लागि जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएकाले पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएका छन।

Sthaniya News
