Breaking News
स्थानीयको पहल तथा नगर प्रमुखको सक्रियताले गुजरा-३ बलुआ टोलमा नाला निर्माण सुरु

स्थानीयको पहल तथा नगर प्रमुखको सक्रियताले गुजरा-३ बलुआ टोलमा नाला निर्माण सुरु

स्थानियन्यूज, रौतहट, चैत २९ गते ।
रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं.३ बलुआ टोलमा लामो समयदेखि अपेक्षित नाला निर्माण कार्य अन्ततः सुरु भएको छ । वर्षौंदेखि विकास निर्माणमा उपेक्षित हुँदै आएको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका थिए, तर यसपटक स्थानीय पहल र नगरपालिकाको सहकार्यले सकारात्मक सुरुवात भएको छ ।
स्थानीय युवा समाजसेवी शेष सेराज लगायत स्थानीय युवाहरूको टिमकाे सक्रिय पहलमा नगरप्रमुख सन्तलाल चौधरीले १८ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँका दुई स्थानमा नाला निर्माण कार्य अघि बढाइएको हो ।


सेराजका अनुसार, “पहिला पनि स्थानीय सरकारले प्रयास नगरेको होइन, तर विभिन्न कारणले काम अघि बढ्न सकेन । यसपटक भने स्थानीय बासिन्दा आफैं सक्रिय भएर सडक खाली गरेपछि नाला निर्माण सम्भव भएको हो । ” उनले नगरप्रमुख चौधरीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप विकासको अपेक्षा पनि गरेका छन् ।
यसैबीच, प्रदेश सरकारबाट सडक ढलानको काम समेत यसै वर्ष सुरु हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् । स्थानीय नैमुदिन मियाँले नाला निर्माण सुरु हुनु सकारात्मक भए पनि समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । अर्का स्थानीय जहुर मियाँले नाला निर्माणले गाउँको स्वरूप नै बदल्ने विश्वास व्यक्त गरे भने जाहिर हुसेनले ढिलै भए पनि स्थानीय सरकारले गाउँमा ध्यान दिएको भन्दै खुशी व्यक्त गरेका छन ।


यता, जेन-जी उमेर समूहका युवाहरूले नाला निर्माणसँगै सडक ढलानको कामलाई पनि प्राथमिकतामा राख्न माग गरेका छन् । उनीहरूले समग्र पूर्वाधार विकासले मात्रै गाउँको दिगो सुधार सम्भव हुने बताएका छन् ।
स्थानीयको सक्रियता र सरकारको सहयोग मिल्दा बलुआ टोलमा सुरु भएको यो नाला निर्माण कार्यले अब समग्र विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*