Breaking News
मधेसका पर्यटन क्षेत्र प्रवर्द्धनमा मन्त्री पटेलको जोड : सिम्रौनगढलाई राष्ट्रिय गौरव परियोजना बनाउने प्रस्ताव

मधेसका पर्यटन क्षेत्र प्रवर्द्धनमा मन्त्री पटेलको जोड : सिम्रौनगढलाई राष्ट्रिय गौरव परियोजना बनाउने प्रस्ताव

काठमाडौं, बैशाख ०५ गते।
संघीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल को अध्यक्षतामा बसेको विषयगत समितिको बैठकमा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल ले मधेसका ऐतिहासिक तथा धार्मिक स्थलहरूको प्रवर्द्धनका लागि महत्वपूर्ण प्रस्ताव पेश गरेका छन्।
मन्त्री पटेलले आगामी आर्थिक वर्ष २०८३/०८४ को संघीय नीति तथा कार्यक्रममा बारा जिल्लामा अवस्थित ऐतिहासिक सिम्रौनगढ लाई राष्ट्रिय गौरवको पर्यटन परियोजनाका रूपमा विकास गर्न प्रस्ताव गरेका हुन्। तिर्हुत राज्यसँग जोडिएको उक्त क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटन गन्तव्य बनाउन आवश्यक पहल गर्न उनले जोड दिएका छन्।
त्यसैगरी, धनुषा जिल्लाको जनकपुरमा रहेको प्रसिद्ध जानकी मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने प्रस्ताव समेत बैठकमा राखिएको छ। मन्त्री पटेलले जनकपुर क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र विस्तृत अध्ययन आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले मधेस प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूलाई एकीकृत रूपमा विकास गर्दै ‘धार्मिक सर्किट’ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। यस अन्तर्गत सप्तरीका शक्तिपीठहरू, सिराहाको सल्हेश मन्दिर, धनुषाको धनुषाधाम, महोत्तरीको जलेश्वरधाम, बाराको गढिमाई मन्दिर, पर्साको गहवामाई लगायतका स्थलहरूलाई समेट्ने योजना अघि सारिएको छ।
पर्यावरणीय पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्ज, ठोरी, कोशी टप्पु वन्यजन्तु आरक्ष, रौतहटको नुनथर तथा सर्लाहीको भरत ताललाई समेत समेटेर अन्तर-प्रदेशीय पर्यटन सर्किट निर्माण गर्नुपर्नेमा उनले जोड दिए।


यसका साथै, चुरे पहाडी क्षेत्रमा पदयात्रा (ट्रेकिङ), होमस्टे प्रवर्द्धन, मौलिक संस्कृति संरक्षण तथा ‘वेडिङ डेस्टिनेशन’ का रूपमा मणिमण्डप जस्ता स्थलहरूको विकासमार्फत मधेसको पर्यटन सम्भावनालाई उकास्न सकिने उनको भनाइ थियो।
मन्त्री पटेलले पर्यटन प्रवर्द्धनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नीति निर्माण तहबाट ठोस पहल आवश्यक रहेको बताएका छन्।
उक्त विषयगत समितिमा सबै प्रदेशका सम्बन्धित मन्त्रालयका प्रतिनिधि, पालिका संघहरू तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*