सिम्रौनगढ, मंसिर २७ गते ।
बाराको सिम्रौनगढ नगरपालिकामा दुई पक्षबिच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ ।
बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा बढ़ी हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले बताएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएको प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई नगरप्रमुख किशोरीप्रसाद कलवारले हाजिर गराउन खोजेपछि आन्दोलित कर्मचारी र जनप्रतिनिधिहरुले रोक्न खोजेपछि झडप भएको थियो ।
झडपका क्रममा प्रमुख प्रशासकीय अधिकृत मिश्र चढेको बा.२ झ ४३५४ नम्बरको सरकारी गाडी तोडफोड गर्न थालेपछि प्रहरी र आन्दोलित कर्मचारी र जनप्रतिनिधिबीच झडप सुरु भएको थियो ।

झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका १ का लक्ष्मी मुखिया बिनको मृत्यु भएको बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जनाएका छन् । प्रहरीको गोली लागेर अर्का एकजना घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ ।
Sthaniya News
