Breaking News
मे.सु. हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त :- अध्यक्ष मो.अनवर हाशमी।

मे.सु. हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त :- अध्यक्ष मो.अनवर हाशमी।

रौतहट, माघ ६ गते २०८० ।
मे.सु. हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त भएको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हासमीले आरोप लगाएका छन् ।मधेश प्रदेशका कांग्रेसका केही मन्त्रीहरुले मानवको स्वास्थ्यसँग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीति गर्न खोज्दा र कर्मचारी हेरफेरमा अनावश्यक हस्तक्षेप गरेको कारण प्रादेशिक अस्पताल गौरको अवस्था नाजुक बनेको अध्यक्ष हासमीले बताए ।

प्रादेशिक अस्पताल गौरको सभाहलमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हासमीले रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मंन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीतिकरण गर्न खोजेको आरोप लगाएका हुन् ।
आफु अध्यक्ष भएदेखि नै अस्पतालमा सुधारको धेरै काम गरेको चर्चा गर्दै उनले आम नागरिकलाई बढी भन्दा बढी सेवा उपलब्ध गराउन विभिन्न सेवा विस्तार गर्नुका साथै कयौं उपकरण खरिद गरेको र बिरामीहरुलाई बस्न भवनको समेत व्यवस्था गराएको बताए ।
आफुले गौर अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने लक्ष्य लिएपनि अस्पताल जस्तो ठाउँमा पनि केही नेताहरुले राजनीति गर्न थालेका कारण अस्पतालको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै उनले दुःख व्यक्त गरे ।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्यमन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्णा प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएका कारण अस्पतालको अवस्था कमजोर हुँदै गएको अध्यक्ष हासमीले बताए ।

प्रदेश ऐनमा प्रदेशमा कर्मचारी नभए मात्र संघको कर्मचारी राख्ने प्रावधान छ तर यहाँ पहिलादेखि नै कार्यरत मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह प्रदेशको कर्मचारी हुँदाहुँदै स्वास्थ्यमन्त्री सिंहले बलजबरजस्ती संघको कर्मचारी कृष्ण प्रसाद साहलाई टिकाएर राखेको उनले बताए ।
मन्त्री यादवले नियमले नै नमिल्ने अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा कृष्ण साहलाई नै राख्न चाहेकोले विवाद चुलिएको उनले बताए ।
संजीव सिंह एघारौँ तहका कर्मचारी हुन भने कृष्ण साह दशौं तहका कर्मचारी हुन् । साहभन्दा सिंह सिनियर कर्मचारी रहेकोले सिंहलाई नै मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हासमीको माग छ ।

दुईजना मेडिकल सुपरिटेन्डेण्ट एकै पटक हाजिर भएकोले कसलाई मेडिकल सुपरिटेन्डेण्ट राख्ने भन्ने विषयमा विवाद चुलिएकोले अहिले प्रादेशिक अस्पताल गौर मेडिकल सुपरिटेन्डेण्ट विहीन रहेको छ ।
मेडिकल सुपरिटेन्डेण्टको अभावमा पछिल्लो केहि महिनादेखि अस्पतालका कर्मचारी तलव पाउन सकेका छैनन् । तलव पाउन नसकेका कर्मचारीहरु माघ ७ गतेदेखि आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरी बन्दहड्तालमा उत्रने चेतावनी दिइसकेको कारण ठूलो समस्या उत्पन्न भएको उनले बताए ।
दुवै मेसु बीच विवाद रहेकोले दुवैजनालाई फिर्ता बोलाई अरु कुनै मेसुलाई पठाइदिन आफुले स्वास्थ्यमन्त्री सिंहलाई पटक–पटक आग्रह गर्दा पनि मन्त्रीहरुको दबाव र इशारामा कांग्रेसका स्वास्थ्यमन्त्री सिंहले अरु कुनै मेसुलाई पठाउन नचाहेको उनले बताए । अगामी एक साताभित्र मन्त्रालयले मेसुको विवाद सुल्झाएन भने आफु आवश्यक कदम चाल्न बाध्य हुने उनले चेतावनी दिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*