रौतहट ।
असोज ०१ गते।
रौतहट जिल्लाको विभिन्न ठाउँहरुमा यस वर्ष पनि धुमधामका साथ विश्वकर्मा पूजा मनाइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि असोज १ गते रौतहटको विभिन्न स्थानमा भगवान विश्वकर्माको प्रतिमा स्थापना गरी श्रद्धापूर्वक पूजा अर्चना गरिएको छ ।

जिल्लाको गौर, गरुडा,चन्द्रपुर,कटहरिया बाजार, समनपुर बाजार, पिपरा बाजार, शिवनगर, मौलापुर, बंकूल लगायत स्थानीय स्तरमा गाउँ-गाउँ, टोल-टोलमा विशेषगरी, मेसिनरी सामग्री बनाउने, ग्यारेज तथा अन्य प्राविधिक कार्यमा संलग्न स्थानहरूमा विश्वकर्मा पूजाको उल्लासमय वातावरण देखिएको छ।

स्थानिय स्तरमा भगवान विश्वकर्मालाई अत्यन्तै श्रद्धाका साथ धातुले बनेको सम्पूर्ण वस्तुहरु लगायत घर निर्माण सम्बन्धी काम गर्ने कामदार तथा त्यसमा उपयोग गर्ने सामग्रिहरुको पूजा गर्ने चलन रहेको छ। ग्यारेजहरू र मेसिनरी पसलहरूमा भगवान विश्वकर्माको प्रतिमा राखेर विशेष पूजा गरिएको छ । रौतहटमा बिश्वकर्मी पूजालाई विशेष महत्त्व दिइन्छ । यस दिनलाई विशेष रूपमा सवारी साधन, औजारहरू, मेसिन, र अन्य धातुजन्य सामग्रीहरूको पूजा गर्ने अवसरका रूपमा लिइन्छ ।
व्यवसायिकहरू, कारीगरहरू, र प्राविधिक पेशामा आबद्ध व्यक्तिहरूका लागि यो पर्व विशेष महत्त्वको रहेको छ । रौतहटका विभिन्न स्थानहरूमा मेशिन, औजार तथा सवारी साधनहरूलाई फूलमालाले सजाएर पूजा गरिएको छ, जसलाई उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत व्यक्तिहरूले अत्यन्त श्रद्धा एवं सम्मानका साथ मनाउँछन् । आफ्ना ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मूर्ति स्थापना गरिन्छ र भोलिपल्ट उक्त मूर्तिलाई सेलाउने गरिन्छ ।

देवताहरूका शिल्प विशेषज्ञ तथा सम्पूर्ण देवताका भवन, हातहतियार लगायत यानहरूका निर्माता विश्वकर्मा ब्रह्माका पुत्र भएको शास्त्रमा उल्लेख गरिएको छ। सोही कारणले गर्दा विश्वकर्माको पूजा प्रचलित रूपमा मान्ने प्रचलन भएको र आ आफ्ना सम्पूर्ण सवारी साधन, मेशिन कलकारखानामा तथा धातुसम्बन्धी काम गरिने कार्यस्थलमा विशेष पूजाआजा गरिन्छ । पूजाको क्रममा भगवान विश्वकर्मासँग मेसिनरी उपकरण र सवारी साधनहरू सुरक्षित रहन, राम्रोसँग सञ्चालन होस् भन्ने कामना गरिन्छ। साथै, नयाँ सवारी साधनको खरिदका लागि समेत यो दिनलाई शुभ मानिन्छ। यस दिन गाडी, मोटर साइकल, र अन्य सवारी साधनलाई फूलमाला, धूप, दीप प्रज्वलन गरी सजाइन्छ र तिनीहरूको सुरक्षा तथा दीर्घकालीन प्रयोगको लागि प्रार्थना गरिन्छ। रौतहटमा विश्वकर्मा पूजाको उत्सवले केहि ठाउँमा सांस्कृतिक कार्यक्रम लगायत सामाजिक सद्भावका लागि पूजा स्थलमा भजन किर्तन गर्ने गरेको देखिएको छ ।
Sthaniya News
