आरएन पटेल,राैतहट,२८ गते असार ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता राजाबाबु साह आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच साहले औपचारिक रूपमा जसपा नेपालको सदस्यता ग्रहण गरेका हुन् ।

उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सदस्यता प्रदान गर्दै टिकामाला लगाई पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, जसपाका वरिष्ठ उपाध्यक्ष गोविन्द चौधरी, नेता राजकिशोर यादव तथा जयमंगल साह लगायतको उपस्थिति रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै राजाबाबु साहले अब आफू मधेसको हक अधिकार र सामाजिक न्यायका लागि जसपा नेपालमार्फत सङ्गठित रूपमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले वर्तमान अवस्थामा मधेसको राजनीतिक सशक्तीकरणका लागि वैकल्पिक राजनीतिक धार आवश्यक रहेको बताएका छन् ।
जसपा नेपालले हालै विभिन्न क्षेत्रका युवा नेताहरूलाई पार्टीमा आकर्षित गर्दै आएको छ । साहको प्रवेशलाई पार्टीले युवासशक्तिकरण र संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानेको छ ।

Sthaniya News
