रौतहट, असार ३० गते २०८२।
रौतहटको वृन्दावन नगरपालिकाले विभिन्न बाधा अवरोध पार गर्दै ५८ करोड ७७ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नगरसभाको ९ औं बजेट अधिवेशन सोमवार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

वृन्दावन नगरपालिका–६ हर्षाहा स्थित बतहु माध्यमिक विद्यालयको प्राङ्गणमा आज आयोजित ९ औं नगरसभा उत्साहजनक सहभागितामा भव्यताका साथ सम्पन्न भएको हो ।
विधानसभा सदस्य एवं नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय नेता रामकुमार भट्टराईको प्रमुख आतिथ्य तथा वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
वृन्दावन नगरपालिकाले आफ्ना ९ औं नगरसभाको बजेट अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८२/ ०८३ का लागि कुल ५८ करोड ७७ लाख ८ हजार ३ सय ३५ रुपैयाँ बजेट ल्याएको छ ।योजना तर्जुमा समितिका कार्यवाहक सभापति एवं वडा अध्यक्ष जगन्नाथ भेडियरले आगामी आर्थिक वर्षको आय व्यय सहितको नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए । विपक्षीको चौतर्फी बिरोध, घेराबन्दी, षड्यन्त्र, विभिन्न बाधा अवरोधलाई झेल्दै निकै शान्तिपूर्ण तरिकाले आज नगर अधिवेशन सम्पन्न गर्न सफल भएको मेयर विनोद प्रसाद कुर्मीले बताए । विपक्षीले नगरसभा नै हुन् नदिन विभिन्न जालझेल गरेपनि आफूहरुले नगरसभा गरेर नगरलाई विकासको गतिमा अगाडी बढाउने ढोका खुल्ला गरेको उनको भनाइ छ । विपक्षीले नगरसभा नै गर्न नदिइ नगरको विकास निर्माण कार्यमा अवरोध पुर्याउने प्रयास गरेपनि आफूहरुले तिनीहरूको उक्त प्रयासलाई विफल तुल्याइदिएको मेयर कुर्मीले बताए ।
नगरलाई विकसित र समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पूर्वाधार निर्माण कार्यलाई विशेष ध्यानमा राखी जनमुखी योजनाहरू आगामी नीति तथा कार्यक्रममा समावेश गरिएको नगर प्रमुख कुर्मीले प्रस्ट पारे ।
प्रत्येक स्थानीय तहले असार १० गते भित्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने र असार मसान्त भित्रमा पारित गरिसक्नुपर्ने रहेको कानूनी प्रावधान अनुसार नै वृन्दावन नगरपालिकार असार १० गते नै नगर अधिवेशन गर्न खोजेको थियो । तर नगर उप प्रमुख संगीता देवी रामले नगरसभा रोक्नुपर्ने माग राख्दै अदालतमा रिट निवेदन दिएकी थिइन् । त्यसपछि अदालतले नगरसभा स्थगित गर्न दिएको आदेशको कारण असार १० गते नगरसभा हुन सकेको थिएन ।
त्यसपछि असार २६ गते नै नगरसभा गर्ने पालिकाले तयारी गरेपनि उपमेयर संगीता देवीले पुनः नगरसभा रोक्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्च अदालतले पुनः नगरसभा रोक्न आदेश दिएपछि असार २६ गतेका लागि बोलाइएको नगरसभा पुनः स्थगित भएको थियो ।
नगरसभा गर्नका लागि अपनाउनु पर्ने सम्पूर्ण विधि प्रक्रिया पुर्याएर नै नगरसभा सम्पन्न गरिएको छ । तर नगरपालिकाले विधि प्रक्रियालाई मिचेर बजेट अधिवेशन बोलाएकाले आफू सहभागी नभएको नगर उप प्रमुख संगीता देवी रामले बताएकी छन् ।
चौतर्फी घेराबन्दी गरिएका कारण असार मसान्त भित्रमा नगरसभा हुन नसक्ने स्थिति सिर्जना भएको थियो तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलले खेलेको अहम भूमिकाका कारण समयमै नगरसभा सम्पन्न भयो ।
प्रशासकीय अधिकृत भुजेलले मेयर र उप मेयर बीच रहेको मनमुटाव अन्त्य गर्न रातदिन खटेर मिहिनेत गरेका थिए । त्यस्तै भुजेलले नगरसभा गर्न अन्य जनप्रतिनिधिहरु संग समेत निरन्तर संवाद गर्दै सबैको चित बुझाएपछि आज बल्ल नगरसभा भएको हो ।
कार्यक्रममा नगर उप प्रमुख संगीता देवी राम अनुपस्थित रहेको थिए भने बहुमत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, अधिकांश वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु लगायत विभिन्न समाजिक व्यक्तिहरुको उपस्थितिमा नगरसभा सम्पन्न भएको छ ।
कार्यक्रममा कुनै प्रकारको बाधा अवरोध उत्पन्न नहोस् भन्ने उद्देश्यले ठुलो संख्यामा नेपाल र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएका थिए । साभार:तराई टप
Sthaniya News
