स्थानीय न्यूज,रौतहट,भदौ ०६ गते।
आजपाका वरिष्ठ उपाध्यक्ष साह सहित दर्जनौं शीर्ष नेता एमालेमा प्रवेश गरेका छन। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का विभिन्न तहमा सक्रिय रहँदै आएका शीर्ष नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरूमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, केन्द्रिय सदस्य तथा प्रदेशसभा उम्मेदवार राजन यादव ‘मनोज’, महिला मोर्चा केन्द्रिय इन्चार्ज एवं पूर्व उपमेयर कान्ति देवी, केन्द्रिय सदस्य तथा पूर्व उपमेयर सिमल कुमारी साह, उपमेयर उम्मेदवार रिमा कुमारी यादव, सचिवालय सदस्य श्याम यादव, केन्द्रिय सदस्यहरू लालबहादुर साह, राजेश साह, श्यामनन्दन प्रसाद साह कानु, मुना साह कानु, रन्जन साह कानु लगायत दर्जनौं नेता कार्यकर्ता रहेका छन् ।

उनीहरूलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दै टिका र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्ने सबै नेताहरूलाई स्वागत गर्दै देश र जनताको सेवामा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए। ओलीले पार्टीमा आएको यो नयाँ उत्साहले संगठन अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।
नवप्रवेशी नेताहरूले एमालेलाई आफूहरूको राजनीतिक यात्राको नयाँ गन्तव्यका रूपमा रोजेको भन्दै पार्टी संगठन बलियो बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उता, आजपाले भने पार्टीबाट पहिले नै निष्कासित गरिएका केही व्यक्तिहरूलाई पार्टीको नाम जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टीले यस्तो भ्रमपूर्ण गतिविधिबाट जनता झुक्किन नहुने स्पष्ट पारेको छ ।

Sthaniya News
