स्थानीय न्यूज,राैतहट,असाेज ०५ गते ।
नेपालको राजनीतिमा दशकौँदेखि सक्रिय रहेका ठूला दलका शीर्ष नेताहरूको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्दै गर्दा उनीहरूलाई “एक्सपायर्ड” घोषणा गर्दै अनिवार्य अवकाशको माग तीव्र रूपमा उठिरहेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूको फोटो एउटै फ्रेममा राखेर प्रयोगकर्ताहरूले आलोचनात्मक टिप्पणी गर्न थालेका छन् ।
फेसबुकमा राजीव साहले लेखेका छन्, “एक्सपायर्ड”, भने अर्का प्रयोगकर्ता रामअश्रे राय यादवले “बाँकी जीवन अब जेलमा राख्नुपर्छ” भन्दै आक्रोश पोखेका छन् । संजय यादव नामक प्रयोगकर्ताले त लेखे, “अब रेस्ट गर्नु पर्यो, धेरै भयो देश र जनतालाई थकित पार्न।”
यी नेताहरू लामो समयदेखि राजनीतिमा सक्रिय छन् र बहुपटक प्रधानमन्त्री बनिसकेका छन् । तर, पछिल्लो पुस्ता भने ती नेताहरूको नेतृत्व क्षमताप्रति असन्तुष्ट देखिँदै गएको छ ।
विश्लेषकहरू भन्छन्, यस्ता प्रतिक्रियाले राजनीतिक दलहरूलाई भित्री सुधारको सन्देश दिन सक्छ। “जनस्तरमा यति व्यापक असन्तोष देखिनु नै परिवर्तनको संकेत हो। नेतृत्व हस्तान्तरण अब टार्न नसकिने विषय बन्दैछ,” राजनीतिक विश्लेषक अम्बिका बस्नेत भन्छन्।
यद्यपि, सम्बन्धित नेताहरू वा तिनका पार्टीहरूले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
यसरी सामाजिक सञ्जालमा उठेको यो बहसले अबको निर्वाचनमा नयाँ पुस्ताको राजनीतिमा स्थान र नेतृत्वको मागलाई अझ सशक्त रूपमा अघि ल्याउने देखिन्छ । जेनजी आन्दोलन पछि हरेक जसाे पार्टी यिनै कुराहरूकाे बहस चलिरहेको छ । परिवर्तन गर्न माग तिव्र रूपमा भईरहेकाे छ । कतिपयले त पुरानै अनुहार लिएर चुनावमा आउने हाे भने पार्टीकाे अस्तित्व नै संकटमा पर्ने आंकलन गरिरहेका छन् ।
Sthaniya News
