आरएन पटेल
रौतहट, मंसिर ०७ गते।
धान कटाउने सिजन चलिरहेकाले अहिले किसानहरू धानबाली भित्र्याउन निकै व्यस्त छन् । पछिल्ला वर्षहरूमा धानखेतीमा प्रविधिको उपयोग बढ्दै गएको छ, जसका कारण खेतीपातीका केही काम सहज र छिटो हुने गरेको किसानहरूको भनाइ छ।
पहिले खेत जोत्न ट्रयाक्टर प्रयोग गर्ने किसानहरूले अब धान काट्न पनि मेसिन (हार्भेस्टर) को उपयोग विस्तारै बढाउँदै लगेका छन्। मेसिनले कम समयमै धेरै क्षेत्रफलको धान काटिदिने भएकाले किसानहरू यसप्रति आकर्षित भएका छन्।
फतुवा बिजयपुर नगरपालिका–९, गर्जामा हाल धान काट्न खेतमै मेसिन प्रयोग भइरहेकाे देखिन्छ। स्थानीय किसानका अनुसार दस जना मजदुरले दिनभर काट्ने धान एक घन्टामै मेसिनले सजिलै काटिदिन्छ। यसले समय र श्रम दुवै बचत हुने भएकाले किसानलाई ठूलो राहत भएको उनीहरूको अनुभव छ।
यद्यपि रौतहटमा अहिलेसम्म थोरैमात्र किसानले मेसिन प्रयोग गर्न थालेका छन्। धेरैजसो किसान अझै पनि मानिस लगाएर नै धान काट्ने परम्परागत तरिकामै निर्भर छन्। तर मजदुरको अभाव र लागत बढ्दो अवस्थामा मेसिन प्रयोगतर्फको आकर्षण तीव्र बन्दै गएको देखिन्छ।
जानकारीका अनुसार एक घन्टामा करिब एक बिगाहा क्षेत्रफलको धान मेसिनले काट्न सक्छ। मेसिनको एक घन्टाको भाडा करीब एक हजार सात सय रुपैयाँ पर्ने गरेको छ। धान काट्ने काम मेसिनले गरे पनि बाँध्ने काम भने मजदुरकै सहयोगमा गर्नुपर्ने किसानहरूले बताए।
रौतहटमा धान कटाइमा प्रविधिको प्रसार विस्तारै हुँदै गरे पनि आगामी वर्षहरूमा यसको प्रयोग अझै बढ्ने किसानहरूको अनुमान छ।
Sthaniya News
