आरएन पटेल, रौतहट, बैशाख ०८ गते।
रौतहटको बौधिमाई नगरपालिका मा जारी मेयर कप प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल खेलमा वडा नं. २ इनर्वा टिमले उत्कृष्ट जित हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आज भएको रोमाञ्चक खेलमा वडा नं. १ अजगैबी टिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याउँदै मैदान उत्रिएको इनर्वा टिमले आक्रामक खेल प्रदर्शन गर्दै मात्र १७.२ ओभरमा १७९ रन बनाउँदै शानदार जित हात पारेको हो।
इनर्वाको जितमा कप्तान बिजय पटेलको भूमिका निर्णायक रह्यो। उनले ७९ रनको विस्फोटक पारी खेल्दै १३ छक्का प्रहार गरे भने बलिङतर्फ ४ ओभरमा ३ विकेट लिँदै ‘म्यान अफ द म्याच’ घोषित भए। त्यस्तै कृष पटेलले पनि ५७ रनको आकर्षक पारी खेल्दै ११ छक्का प्रहार गरी टोलीलाई जिततर्फ डोर्याएका छन।

इनर्वा टिमले समग्र खेलमा २६ छक्का र ३ चौका प्रहार गर्दै आफ्नो आक्रामक शैली प्रस्तुत गरेको थियो।
यस जितसँगै इनर्वा टिमले अब सेमिफाइनलमा प्रवेश गरेको छ, जहाँ भोलि बुधबार वडा नं. ४ इनरवारीसँग प्रतिस्पर्धा गर्ने कप्तान बिजय पटेलले जानकारी दिएका छन्।
मेयर कप प्रतियोगितामा इनर्वा टिमको यो प्रदर्शनले दर्शकहरूमा थप उत्साह र रोमाञ्च बढाएको छ।

Sthaniya News
