आरएन पटेल । रौतहट । माघ २९ गते
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा भन्सार छलीका विभिन्न सर सामानहरु भन्सार कार्यालयमा बुझाइएको छ । जिल्लाको विभिन्न सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत माघ २८ गते बुधबारका दिन सो सामग्रीहरु भन्सार कार्यालयमा बुझाइएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत विभिन्न प्रहरी ईकाईहरुबाट विभिन्न समय र स्थानमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा राखि नेपाल तर्फ भित्र्याई ल्याएका कपडा, मिक्चर मेसिन, चिनी, खैनी, विस्कुट, लेडिज चपल, वच्चाको जिन्स पैन्ट, कानको टप, साईकल, टिका, साडी, सल, ठुलो फ्रक, सानो वच्चाहरुको फ्रक, वावा सुट लगायतका अन्य सामग्रीहरु वेवारीसे अवस्थामा बरामद गरेका थिए । पक्राउ परेका सो सामग्रीहरु अन्दाजी मुल्य दुई लाख पन्चानब्बे हजार नौ सय बराबरको रहेको अनुमान गरिएको छ ।

बुधबार बेलुका करिब ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका प्रहरी चौकी लक्ष्मिपुर बेलबिछुवाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका वडा नं। ८ बेलबिछुवामा नेपालबाट भन्सार छली चोरी पैठारी गरी सौफी रक्सी ८ कार्टुन टाउकोमा बोकी भारत तर्फ लैजादै गरेको अवस्थामा भारत बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत भकुरहर वडा नं.१५ बस्ने ३५ वर्षीय असलम खान र त्यही ठाउँ बस्ने बर्ष ४० को अब्बास खान समेतलाई नियन्त्रणमा लिईएको थियो ।
सो स्थानबाट अन्दाजी मुल्य नौ हजार छ सय बराबरको ८ कार्टुन सौफी रक्सी समेत गरेर जम्मा मुल्य तीन लाख पाँच हजार पाँच सय बराबरको विभिन्न सर सामानहरु समेत २ जना मानिसलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सो सर सामानहरु तथा मानिसलाई आवश्यक कारवाहीको लागि बिहीबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sthaniya News
