आरएन पटेल,राैतहट,साउन २३ गते।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित भएको छ। नगरपालिकाको कार्यपालिका बैठकबाट आउँदो साउन ३० गते नगरसभा हुने निश्चित भएको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” विभिन्न कारणले संविधानले तोकेको समयसीमाभित्र बजेट पारित गर्न सकेनाै । ढिलै भएपनि यस विषयमा हामी गम्भीर छौं । त्यसैले हामी नगरसभालाई प्रभावकारी बनाउने दिशामा जुटेका छौं।”

नगरसभा तयारीका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली बिहीबार नगरपालिकामा पुगेको थियो । मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीको नेतृत्वमा आएको उक्त टोलीले साउन मसान्तभित्र बजेट पेश गरी पारित गर्न सहजीकरण गर्ने उद्देश्यले भ्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले जानकारी दिनुभयो ।
नगरसभा सफल बनाउन आन्तरिक तयारी तीव्र पारिएको फतुवा बिजयपुर वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव (पप्पु) ले बताउनुभयो । उहाँका अनुसार नगरसभा तयारीका विषयमा वडास्तरमा समेत छलफल सुरु गरिएको छ ।
नगरसभा हुने खबरले नगरवासीहरूमा उत्साह थपिएको प्रदेश सांसद प्रत्याशी शेख सेराजले बताउनुभयो । उहाँले नगरसभा लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएको भन्दै यसले पारदर्शिता र स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाले अबको केही दिनभित्रै बजेट प्रस्ताव सहितको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
Sthaniya News
