आरएन पटेल,राैतहट, भदौ ०२ गते।
नव युवक सञ्चार क्षेत्रमा क्रियाशील रहेकाे चन्दन प्रसाद यादवलाई बज्जिकाञ्चल दैनिक द्वारा सम्मानीत गरिएको छ। बज्जिकाञ्चल मिडिया प्रा. लि. द्वारा प्रकाशित बज्जिकाञ्चल दैनिक पत्रिकाको आइतबार पाँचौ वार्षिकोत्सवमा यादवलाई प्रशंसा पत्रले सम्मानित गरेको हो। कम उमेरमै पत्रकारिता क्षेत्रमा कलम चलाई समाजमा सकारात्मक प्रभाव पार्न सफल भएका यादवले यो सम्मान पाएका हुन् ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाबाट सञ्चालित बज्जिकाञ्चल मिडिया अन्तर्गतको बज्जिकाञ्चल खबर, बज्जिकाञ्चल दैनिक र बज्जिकाञ्चल अनलाइन टिभी मा निरन्तर योगदान दिंदै आएका यादव पछिल्लो समय बज्जिका भाषाको संरक्षण र प्रवर्द्धनमा पनि उल्लेखनीय भूमिका खेलिरहेका छन् ।
अहिले बज्जिकाञ्चल दैनिक पत्रिकाको सह-सम्पादककाे रुपमा कार्यरत रहेका हुन् ।
त्यसैगरी, उनले मौलापुर एफ.एम. र मधेश मसला एफ.एम.मा बज्जिका समाचार वाचकको रूपमा समेत काम गरिसकेका छन् । अहिले २० वर्षको उमेरमै सञ्चार क्षेत्रमा ठूलो अनुभव हासिल गरेका यादवले केही महिनामा सञ्चालनमा आउन लागेको बज्जिकाञ्चल एफ.एम. मा पनि आफ्नो सक्रिय भूमिका रहने बताएका छन् ।
सम्मान कार्यक्रममा सहभागी वरिष्ठ सञ्चारकर्मीहरूले यादवको समर्पण, मेहनत र लगनशीलतालाई उच्च मूल्यांकन गर्दै उनलाई आगामी दिनमा राष्ट्रिय स्तरका प्रभावशाली सञ्चारकर्मीको रूपमा उदाउने विश्वास व्यक्त गरेका छन् ।
युवाशक्ति राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै, सम्मानित यादवले भने — “सञ्चार क्षेत्र केवल पेशा मात्र नभई समाज परिवर्तनको माध्यम हो । सत्य र निष्पक्ष समाचारमार्फत जनताका आवाजलाई सशक्त बनाउने मेरो संकल्प हो ।”
उनको यस उपलब्धिले जिल्लासहित सम्पूर्ण मधेसका युवाहरुलाई पनि सञ्चार क्षेत्रमा लाग्न प्रेरणा दिने विश्वास लिइएको छ ।
Sthaniya News
