चन्दन कुमार महतो
रौतहट, भदौ ०३ गते।
सर्वोच्च अदालतको आदेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन। जसपा नेपालले गौर हत्याकाण्डलाई राजनीतिक घटनाक्रम र तत्कालीन माओवादीको हिंसात्मक गतिविधिको उपज भन्दै पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप लगाएको छ।

गौरको बिपी चौकबाट शुरु भएको प्रदर्शन नगर परिक्रमा गर्दै अदालत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले “उपेन्द्र यादवमाथि गरिएको षड्यन्त्र खारेज गर”, “राजनीतिक मुद्दालाई कानुनी रंग नदेऊ”, “सर्वोच्चको आदेश लाई सम्मान गर्दै ” भन्ने जस्ता नारा लगाउदै नगर परिक्रमा गरेका थिए।

जसपा नेपाल रौतहट जिल्ला कार्यसमितिले आयोजना गरेको सो कार्यक्रममा जिल्ला अध्यक्ष राजिव रंजन उर्फ राजु यादव सभालाई सम्बोधन गर्दै “गौर घटनाको मुख्य योजनाकार प्रभु साह” भएको दाबी गरे। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले सरकारको इसारामा सर्वोच्च अदालत मार्फत राजनीतिक मुद्दा खोलिएको दाबी गर्दै अदालतले न्यायको साटो अन्यायलाई प्रश्रय दिएको आरोप समेत लगाएका छन।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डको छानबिनलाई अघि बढाउन रौतहट प्रहरीलाई अनुसन्धान अगाडि बढाउन परमादेश दिएको थियो। उक्त आदेशपछि जसपा नेपाल आक्रोशित बनेको हो।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो। उक्त घटना त्यसयता राजनीतिक विवाद र आरोप-प्रत्यारोपको केन्द्र रहँदै आएको छ।
जसपाले अध्यक्ष यादवको घटनासँग कुनै संलग्नता नरहेको स्पष्ट पार्दै यसलाई राजनीतिक प्रतिशोध पूर्ण रूपमा मुद्दा खोलिएको भन्दै आपत्ति जनाएको छ। पार्टीले लोकतन्त्र र न्यायपालिकामाथि प्रत्यक्ष प्रहार भएको आरोप लगाउँदै आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन।
Sthaniya News
