Breaking News
त्यागी र दानी नेता तथा समाजसेवी वासुदेवशरणको निधनप्रति बुद्धिजीवी समाजको हार्दिक संवेदना

त्यागी र दानी नेता तथा समाजसेवी वासुदेवशरणको निधनप्रति बुद्धिजीवी समाजको हार्दिक संवेदना

राम विश्वास कुशवाहा
सर्लाही, भदौ ४ गते।
समाजसेवा, उदारता र मानवीय मूल्यहरूको प्रतीक स्वर्गीय वासुदेवशरण कोइराला को निधनले हाम्रो समाजमा अपूरणीय क्षति पुगेको छ। ९३ वर्षको उमेरमा मंगलबार उहाँले यस संसार छोड्नुभयो, तर उहाँको योगदान र आदर्शले सदैव हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ।
स्व. कोइराला राजनीतिक वा पार्टी सीमामा अड्किएर नभई सधैं जनताको कल्याण र सेवालाई पहिलो प्राथमिकता दिनुहुन्थ्यो। उहाँको जीवन मार्गदर्शन र संघर्षले आम नागरिकमा मानवता, सहकार्य र सामाजिक दायित्वको महत्वलाई उजागर गर्‍यो।
उहाँको सामाजिक योगदान अत्यन्तै विशिष्ट रह्यो। सर्लाही, लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमुना वृद्धाश्रम मार्फत उहाँले बेसहारा वृद्धवृद्धा र बालबालिकालाई आश्रय, सुरक्षा र माया प्रदान गर्नुभएको थियो। आश्रमलाई आफ्नो घरजग्गा दान गर्नु उहाँको उदारता र समाजप्रतिको गहिरो प्रतिबद्धताको प्रतिक हो। हाल आश्रममा ५० जनाभन्दा बढी वृद्धवृद्धा र बालबालिकाहरू सुरक्षित र संरक्षित वातावरणमा बसोबास गरिरहेका छन्।
स्व. कोइरालाको जीवन निरन्तर समाजसेवाको मार्गदर्शनले भरिएको थियो। उहाँ जस्ता व्यक्तिहरूले समाजमा निस्वार्थ सेवा गर्ने, आवश्यकता अनुसार सहयोग पुर्‍याउने र मानवताको मूल्य स्थापित गर्ने दृष्टान्त प्रस्तुत गरे। उहाँको योगदानले सधैं सामाजिक समावेशिता, दानशीलता र मानवताप्रतिको सम्मानको स्मरण गराउनेछ।
कुशवाहा बुद्धिजीवी सेवा समाज, जिल्ला समन्वय समिति, सर्लाहीले स्व. कोइरालाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै, उहाँको जीवन र समाजप्रतिको योगदानको स्मरण सदैव गर्ने विश्वास व्यक्त गर्दछ। समाजमा निरन्तर सेवा गर्ने उहाँ जस्ता व्यक्तिहरूलाई हाम्रो समुदायले उच्च मूल्याङ्कन गर्दै ठूलो सम्मान प्रकट गर्दछ।
स्वर्गीय वासुदेवशरण कोइरालाको आत्माको चिरशान्ति कामना गर्दै, उहाँको योगदान र आदर्श सदैव हाम्रो स्मृतिमा रहनेछ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*