रौतहट, चैत १५ गते ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले सामाजिक सञ्जालमार्फत एक पत्रकारमाथि गरिएको गालीगलौजप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।
महासंघद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा “I Support Prabhu” नामक फेसबुक आईडीबाट रातोपाटी डटकमका रौतहट संवाददाता पत्रकार सञ्जय मिश्रलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गरिएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व सांसद प्रभु साहको नाम जोडेर बनाइएको उक्त आईडीमार्फत समाचार लेखेको विषयलाई लिएर पत्रकारमाथि गरिएको दुर्व्यवहार निन्दनीय रहेको महासंघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ – “सञ्चारकर्मीले लेखेको समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अवलम्बन गर्न सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत मानमर्दन गर्नु प्रेस स्वतन्त्रता र पेशागत मर्यादामाथि गम्भीर आक्रमण हो।”

महासंघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त फेसबुक आईडीबारे यथार्थ छानबिन गरी दोषी पहिचान गरेर तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, पटक-पटक धम्की र त्रासबीच काम गर्न बाध्य सञ्चारकर्मीलाई शान्ति-सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
महासंघका सचिव गौतम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता धाकधम्कीपूर्ण गतिविधि तुरुन्त बन्द गर्न र नागरिकको सूचनाको हक सुनिश्चित गर्न सबै सरोकारवालालाई अपिल गरिएको छ।
Sthaniya News
