आरएन पटेल, रौतहट, चैत १० गते।
विश्व क्षयरोग दिवस (World TB Day) को अवसरमा आज फतुवा विजयपुर नगरपालिका तथा कटहरिया नगरपालिकामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन। “Yes! We Can End TB: Led by Country, Powered by Us” ( “हो! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान”) भन्ने नाराका साथ कार्यक्रमहरू आयोजना गरिएको हो।
फतुवा विजयपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रमोद प्रसाद गुप्ताले क्षयरोग (टीबी) सम्बन्धी विस्तृत जानकारी दिँदै रोगबाट बच्ने उपायहरूबारे स्पष्ट पार्नुभयो। उहाँले समयमै पहिचान, नियमित औषधि सेवन तथा जनचेतनाको अभाव हटाउन सके क्षयरोग नियन्त्रण सम्भव रहेको बताउनुभएको छ।
कार्यक्रममा स्वास्थ्य सह-संयोजक रमेश प्रसाद यादवले “राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारालाई आत्मसात गर्दै क्षयरोग अन्त्यका लागि सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
यसैगरी, विश्व क्षयरोग दिवसकै अवसरमा कटहरिया नगरपालिका स्वास्थ्य शाखाले पनि विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवले नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा क्षयरोग सम्बन्धी जनचेतनामूलक सन्देशहरू प्रवाह गर्दै रोगको समयमै परीक्षण र उपचारमा जोड दिनुभयो।
कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। यस्ता कार्यक्रमहरूले क्षयरोग विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
Sthaniya News
