Breaking News
फतुवा विजयपुर नगरपालिकामा गणकका लागि आवेदन खुला, ११ जना आवश्यक

फतुवा विजयपुर नगरपालिकामा गणकका लागि आवेदन खुला, ११ जना आवश्यक

आरएन पटेल, रौतहट, चैत १० गते।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले गरिब घरपरिवार पहिचानसम्बन्धी तथ्याङ्क सङ्कलन कार्य सञ्चालन गर्न गणक पदमा ११ जना जनशक्ति आवश्यक रहेको भन्दै पहिलो पटक सूचना प्रकाशित गरेको छ।
नगर कार्यपालिकाको कार्यालय लक्ष्मीनियाँद्वारा जारी सूचनाअनुसार योग्य तथा इच्छुक स्थानीय नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले सोमबार सूचना सार्वजनिक गर्दै आवश्यक योग्यता पुगेका उम्मेदवारलाई समयमै आवेदन दिन आग्रह गर्नुभएको छ।
सूचनामा उल्लेख भएअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा बाह्र कक्षा वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै कम्प्युटर सफ्टवेयर चलाउन सक्ने, एन्ड्रोइड मोबाइल प्रयोग गर्न जान्ने र नेपाली युनिकोडमा टाइप गर्न सक्ने सीप आवश्यक पर्नेछ। सम्बन्धित स्थानीय तहमा स्थायी बसोबास भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ भने यसअघि तथ्याङ्क सङ्कलन कार्यमा संलग्न भएका उम्मेदवारलाई थप प्राथमिकता प्रदान गरिनेछ।
दरखास्त दिने अन्तिम मिति २०८२ चैत २३ गते कार्यालय समयभित्र तोकिएको छ। सो दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म आवेदन दिन सकिने जनाइएको छ। चयन प्रक्रिया अन्तर्गत प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता लिइनेछ भने तलब तथा अन्य सुविधा प्रचलित नियमअनुसार उपलब्ध गराइनेछ।
आवेदन दिन इच्छुक उम्मेदवारहरूले नेपाली नागरिकता, शैक्षिक योग्यता, कार्य अनुभव प्रमाणपत्रका प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्नेछ। दरखास्त फारम नगरपालिकाको सूचना तथा प्रविधि शाखाबाट प्राप्त गर्न सकिनेछ।
नगरपालिकाले म्याद नाघेर आएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश नगर्ने स्पष्ट पारेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*