Breaking News
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्रशासन – सञ्चारकर्मी एकजुट

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्रशासन – सञ्चारकर्मी एकजुट

आरएन पटेल,रौतहट, फागुन १४ गते।
“स्वच्छ र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव” भन्ने मूल नाराका साथ जिल्ला निर्वाचन कार्यालय रौतहटको आयोजनामा निर्वाचन र आमसञ्चार विषयक जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी छोटे लाल दासले गरेका थिए। उनले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते शान्त, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने आयोगको तयारीबारे जानकारी गराएका छन।


रौतहट जिल्लामा कायम ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १८ स्थानीय तहका १ सय ५७ वडामा २ सय ७७ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र तोकिएको छ। जिल्लाभर कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेकोमा २ लाख ४० हजार २ सय ६७ पुरुष, १ लाख ९६ हजार ३ सय ४३ महिला तथा १ जना अन्य मतदाता रहेका छन। ‘अन्य’ मतदाता निर्वाचन क्षेत्र नं. ३ मा रहेको जानकारी निर्वाचन अधिकारी दासले दिएका छन।
आयोगको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी सूचना प्रदान गरी जिम्मेवार तथा सचेत मतदान संस्कृतिको विकास गर्नु रहेको बताइएको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम तथा विद्यालयस्तरमा स्वयंसेवक परिचालन गरिएको छ भने आमसञ्चार र सामाजिक सञ्जालमार्फत पनि मतदाता शिक्षा अभियान सञ्चालन भइरहेको जनाइएको छ।

निर्वाचन अवधिभर सञ्चारकर्मीहरूले मतदाता शिक्षासम्बन्धी सन्देश सरल, स्पष्ट र तथ्यपरक रूपमा प्रवाह गर्ने, मतदान मिति, समय र प्रक्रियाबारे सही जानकारी दिने, पहिलो पटक मतदान गर्ने मतदातालाई लक्षित प्रेरणामूलक सामग्री निर्माण गर्ने, कुनै पनि दल वा उम्मेदवारको प्रचार नगर्ने, आचारसंहिता र आयोगका निर्देशनको पूर्ण पालना गर्ने, सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना तथा अफवाहको खण्डनमा सहयोग गर्ने, महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता प्रवर्द्धन गर्ने, मतदान केन्द्रमा पालना गर्नुपर्ने मर्यादाबारे जनचेतना फैलाउने अपेक्षा राखिएको छ। सन्देशमुखी सामग्री नाटक, गीत, कविता, स्केच तथा भिडियोमार्फत पनि प्रस्तुत गर्न कार्यक्रम मार्फत सुझाव दिइएको छ।

प्रमुख जिल्ला अधिकारी भुषालले निर्वाचन अवधिभर सम्भावित सुरक्षा चुनौती सामना गर्न प्रशासन पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिँदै करिब १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिने स्पष्ट पारेका छन।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले आचारसंहिता उल्लंघन सम्बन्धी प्रावधान बारे प्रकाश पारेका थिए।कार्यक्रममा नारायण दल गणका कर्णेल विश्वास विष्ट, जिल्ला प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, कोष तथा लेखा नियन्त्रण कार्यालय गौरका प्रमुख देवी गौतम तथा नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष संजय कार्की लगायत सञ्चारकर्मी र निर्वाचन कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निष्पक्ष सूचना प्रवाह, अफवाह नियन्त्रण र आचारसंहिता पालनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*