Breaking News
कुल ६३ प्रतिशत मतदानसहित रौतहटमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

कुल ६३ प्रतिशत मतदानसहित रौतहटमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

आरएन पटेल,रौतहट, फागुन २१ गते।
रौतहट जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कडा सुरक्षा व्यवस्था र मतदाताको उल्लेखनीय सहभागिताका बीच निर्वाचन मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले बताएका छन।


बिहानैदेखि जिल्लाका ग्रामीण भेगदेखि नगर क्षेत्रसम्मका मतदान केन्द्रहरूमा मतदाताको बाक्लो उपस्थिति देखिएको थियो। मतदाताहरू लामबद्ध रूपमा लाइनमा उभिएर उत्साहपूर्वक मतदान गरेका छन।


निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल २ लाख ७४ हजार ८० मत खसेको छ। मतदानमा पुरुष मतदाताको संख्या महिलाभन्दा केही बढी देखिएको छ। तथ्यांक अनुसार १ लाख ३० हजार ४०५ महिला र १ लाख ४३ हजार ६७५ पुरुष मतदाताले मतदान गरेका छन् भने अन्य लिङ्गका मतदाता भने मतदानमा देखिएका छैनन।
क्षेत्रगत रूपमा हेर्दा निर्वाचन क्षेत्र नं. १ मा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ। यहाँ ३३ हजार ५३ महिला र ३७ हजार ६०७ पुरुष गरी कुल ७० हजार ६६० मत खसेको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ५९ प्रतिशत मतदान भएको छ, जुन जिल्लामा सबैभन्दा कम हो। यस क्षेत्रमा २९ हजार ८८२ महिला र ३४ हजार ३५७ पुरुष गरी कुल ६४ हजार २३९ मत खसेको छ।
निर्वाचन क्षेत्र नं. ३ मा ६४ प्रतिशत मतदान भएको छ। यहाँ ३२ हजार ७३३ महिला र ३६ हजार ४९५ पुरुष गरी कुल ६९ हजार २२८ मत खसेको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ४ मा ६३ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा ३४ हजार ७३७ महिला र ३५ हजार २१६ पुरुष गरी कुल ६९ हजार ९५३ मत खसेको तथ्यांकले देखाएको छ।


मतदानलाई शान्तिपूर्ण बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को संयुक्त परिचालन गरिएको थियो। सुरक्षा व्यवस्था कडा बनाइएकाले कुनै ठूलो अवरोध वा अप्रिय घटना बिना मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार मतदाताको सहभागिता उत्साहजनक रहेको र अधिकांश मतदान केन्द्रमा निर्धारित समयसम्म मतदान जारी रहेको थियो। समग्रमा शान्तिपूर्ण, व्यवस्थित तथा निष्पक्ष वातावरणमा मतदान सम्पन्न भएको उनले बताए।
निर्वाचन कार्यालयका अनुसार रौतहटमा कुल ६३ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*