Breaking News
गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवलाई पितृशोक

गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवलाई पितृशोक

आरएन पटेल,रौतहट, चैत ०२ गते।
रौतहट जिल्लाको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवका पूजनीय पिता रामेश्वर राय यादवको आइतबार राति करिब ११ बजे दुःखद निधन भएको छ। उनको निधन ७४ वर्षको उमेरमा भएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २००८ सालमा जन्मिएका स्वर्गीय यादव स्वच्छ छवि, दयालु स्वभाव र समाजसेवामा समर्पित व्यक्तित्वका रूपमा स्थानीय समुदायमा परिचित थिए। दिनदुःखी तथा विपन्न व्यक्तिहरूको सहयोगमा सदैव अग्रसर रहने उनी स्थानीयवासीका लागि ईश्वर स्वरूप मानिन्थे।


स्थानीयका अनुसार स्वर्गीय यादव लामो समयदेखि धार्मिक आस्थामा समर्पित जीवन बिताउँदै आएका थिए। उनले आफ्नै निवासमा सन्त महन्थझैँ भगवानको प्रतिमा स्थापना गरी नियमित पूजापाठ गर्दै ईश्वरभक्तिमा जीवन समर्पित गरेका थिए। पारिवारिक मोह माया त्याग्दै आध्यात्मिक जीवन बिताइरहेका उनले आइतबार सधैंका लागि यस संसारलाई अलबिदा गरेका हुन।
नगर प्रमुख श्याम प्रसाद यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो दुःख व्यक्त गर्दै बुवाको निधनले आफू र सम्पूर्ण परिवार गहिरो शोकमा परेको बताएका छन। उनले बुवाले जीवनभर इमानदारी, परिश्रम, धर्म र मानवताको मार्ग देखाएको उल्लेख गर्दै उनका शिक्षा, संस्कार र मायाले सधैं मार्गदर्शन गरिरहने बताएका छन।


“बुवाको अभाव कहिल्यै पूरा हुन सक्दैन, तर उहाँले देखाउनुभएको मार्गलाई पछ्याउँदै उहाँका आदर्शलाई जोगाइराख्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले फेसबुकमा लेखेका छन।
यस कठिन घडीमा साथ, सहानुभूति तथा समवेदना प्रकट गर्ने सम्पूर्ण आफन्त, मित्र तथा शुभेच्छुकहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन। साथै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेका छन।
स्वर्गीय रामेश्वर राय यादवको निधनप्रति स्थानीय राजनीतिक, सामाजिक तथा सर्वसाधारण तहबाट गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*