स्थानियन्यूज,रौतहट, बैशाख ०४ गते।
बौधीमाई नगरपालिका वडा नं. २ स्थित श्री आधारभूत विद्यालय, इनरवाको नयाँ भवन निर्माणका लागि शुक्रबार एक भव्य कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ।
नगर प्रमुख प्रदिप कुमार यादव र नगर उप-प्रमुख श्रीमती प्रमिला देवीको उपस्थितिमा विधिपूर्वक जग पूजा गरी विद्यालय भवन निर्माण कार्यको शुभारम्भ गरिएको हो।
कार्यक्रममा नगर प्रमुख यादवले गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधार सुदृढ हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी उप-प्रमुख प्रमिला देवीले शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
उक्त कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय स्तरमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।

Sthaniya News
