स्थानियन्यूज,रौतहट, बैशाख ०४ गते।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यका प्रत्यासी शेख सगीरले भारत–नेपाल सीमा क्षेत्रमा देखिएको आवतजावत तथा सवारी साधनसम्बन्धी समस्यामा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेका छन्।

नयाँ सरकार गठनपछि भारतबाट घरायसी सामान ल्याउने कार्यमा गरिएको कडाइ तथा भारतीय नम्बर प्लेटका सवारी साधनमाथि लगाइएको प्रतिबन्धका कारण सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै सगीरले चासो व्यक्त गरेका हुन्।
यसै सन्दर्भमा उनले रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसँग भेटघाट गरी समस्या समाधानतर्फ ध्यानाकर्षण गराएका थिए। भेटका क्रममा सगीरले सीमावर्ती नागरिकहरूको दैनिक जीवनसँग गाँसिएका यस्ता विषयलाई व्यवहारिक बनाउँदै सहज आवतजावत र सवारी सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे।
उनले भने, “सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि भारतसँगको आवतजावत दैनिक जीवनको अभिन्न हिस्सा हो। अचानक गरिएको कडाइका कारण जनताले सास्ती खेप्नु परेको छ, त्यसैले यसलाई सहज बनाउनु आवश्यक छ।”
प्रमुख जिल्ला अधिकारी भुसालले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यता स्थानीयवासीहरूले पनि सरकारका नियमहरूलाई व्यवहारिक र जनमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले सीमावर्ती क्षेत्रको वास्तविकता बुझेर निर्णय लिन सरकारसँग आग्रह गरेका छन।

Sthaniya News
