आरएन पटेल,रौतहट, बैशाख ०४ गते।
रौतहटको गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा सिमरा भवानीपुरले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई कक्षागत विद्यार्थी विवरण यथाशीघ्र पेश गर्न निर्देशन दिएको छ।
शाखाबाट जारी सूचनाअनुसार मिति २०८२/१२/२७ गते प्राप्त पत्र तथा नगर कार्यपालिकाको २०८२ साल चैत्र २५ गतेको बैठक निर्णयका आधारमा विद्यालय समायोजन तथा दरबन्दी मिलान सम्बन्धी कार्य अघि बढाइएको छ। सोही कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न शैक्षिक सत्र २०८२ को अन्तिम परीक्षामा सहभागी भएका विद्यार्थीहरूको कक्षागत विवरण आवश्यक रहेको जनाइएको छ।
सूचनामा विद्यालयहरूले उक्त विवरण भविष्यमा फरक नपर्ने गरी यथार्थ र प्रमाणिक रूपमा तयार गरी ३ दिनभित्र अनिवार्य रूपमा पेश गर्न आग्रह गरिएको छ।
पालिकाका शिक्षा अधिकृत शिव मंगल शाहद्वारा हस्ताक्षरित पत्रमा विद्यालय समायोजन तथा शिक्षक दरबन्दी व्यवस्थापनलाई व्यवस्थित बनाउन विद्यार्थी तथ्यांक महत्वपूर्ण आधार हुने उल्लेख गरिएको छ।
नगरपालिकाको यस कदमले शिक्षा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Sthaniya News
