आरएन पटेल,रौतहट,बैशाख ०८ गते।
रौतहटको उत्तरीभेग गुजरा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण संकलनलाई तीव्र बनाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालय, सिमरा भवानीपुरले भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौं तथा जिल्ला समिति रौतहटबाट प्राप्त पत्रका आधारमा कार्ययोजना कार्यान्वयनलाई अघि बढाएको हो। आयोगले तोकेको कार्ययोजनाअनुसार भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल द्वारा जारी सूचनामा सबै वडा कार्यालयलाई पहिले नै दर्ता भएका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका फारामहरू अनलाइन प्रणालीमार्फत डिजिटल इन्ट्री गर्न निर्देशन दिइएको छ।
साथै, प्रत्येक वडाले दैनिक रूपमा प्रगति विवरण नगरपालिकाको सूचना प्रविधि शाखामा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। यस अभियानले वास्तविक लाभग्राहीको पहिचान गर्दै व्यवस्थापन प्रक्रियालाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नगरपालिकाले यस कार्यमा सक्रिय सहयोग गर्न सम्पूर्ण वडा कार्यालय तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Sthaniya News
