आरएन पटेल,रौतहट, बैशाख ०८ गते।
रौतहटको माधव नारायण नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रणका लागि कडा निर्देशन जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालय, माधोपुरले माइक, स्पिकर, डिजे लगायत ध्वनि उपकरणको अत्यधिक प्रयोगले सर्वसाधारणको शान्ति, स्वास्थ्य, विद्यार्थीको अध्ययन तथा वातावरणमा नकारात्मक असर परेको भन्दै यस्तो निर्णय गरेको हो।
नगरपालिकाका अनुसार “हेलो सरकार” सहित विभिन्न माध्यमबाट लगातार गुनासो प्राप्त भएपछि वातावरण संरक्षण ऐन २०७६ को दफा १५ अनुसार ध्वनि प्रदूषण नियन्त्रण गर्न स्पष्ट मापदण्ड तोकिएको छ।
मुख्य निर्देशनहरू:
बिहान ६:०० बजेअघि र राति ८:०० बजेपछि कुनै पनि प्रकारका साउण्ड सिस्टम (माइक, स्पिकर, डिजे आदि) प्रयोग गर्न पूर्ण रूपमा निषेध।
अन्य समयमा पनि अनावश्यक रूपमा उच्च ध्वनि प्रयोग नगर्न आग्रह।
विवाह, धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित वडा कार्यालयबाट पूर्व स्वीकृति अनिवार्य लिनुपर्ने।
सार्वजनिक स्थानमा ध्वनि प्रदूषण हुने गतिविधि नगर्न/नगराउन निर्देशन।
नगरपालिकाले सबै नागरिक, संघ–संस्था तथा कार्यक्रम आयोजकहरूलाई तोकिएको मापदण्ड पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेहरूमाथि कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ। यस कदमसँगै नगर क्षेत्रमा शान्ति व्यवस्था कायम राख्न, विद्यार्थीहरूको पढाइमा सहजता ल्याउन र स्वस्थ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Sthaniya News
