Breaking News
प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा विद्यालयमा नर्स राख्ने

प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा विद्यालयमा नर्स राख्ने

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते
प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा विद्यालयमा विद्यालय नर्स राख्ने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षालाई महिलामैत्री तथा मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई अझ सार्थक बनाउन माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स राख्ने तयारी गरेको हो । विद्यालय नर्स भर्नाका लागि सामाजिक विकास मन्त्रालयले ५ फागुनमै सूचना आह्वान गरिसकेको छ । चालू आर्थिक वर्षमा प्रत्येक जिल्लाबाट १० वटाको दरले माध्यमिक विद्यालय छनोट गरी त्यसमा विद्यालय नर्स राखिने सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत अजित केशरीले जानकारी दिए ।दलित, मुस्लिम तथा समाजमा पछाडि पारिएका समुदायका छात्राको संख्या र भौतिक संरचनालाई आधार बनाएर कार्यक्रमका लागि विद्यालयहरू छनोट गरिने उनले बताए ।विद्यालयबाटै बालबालिकालाई स्वास्थ्य तथा पोषण सम्बधमा सचेत गराउने, स्वस्थ, सफा, तथा सिकाइमैत्री वातावरण तयार गरिने, किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराइने तथा विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा दिने उद्देश्यले यस्तो कार्यक्रम तयार गरिएको अधिकृत केशरीले बताए ।
त्यसैगरी, विद्यालयमा नर्स भएको खण्डमा विद्यालयमा रहेको वेलामा विद्यार्थीमा एक्कासि हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्याको प्राथमिक उपचारका लागि सजिलो हुने उनले बताए ।यौन तथा प्रजनन स्वास्थ्य, लैंगिक हिंसा, बालहिंसालगायतका विषयमा नर्सबाटै अध्ययन गराएको खण्डमा किशोरीहरू खुलेर कुरा गर्न सक्ने भएकाले पनि यो निर्णयमा पुगेको उनको भनाइ छ ।महिनावारीको वेलामा किशोरीहरू हप्तौँसम्म विद्यालय नआउनेजस्ता समस्या रहेकाले यस्ता कार्यक्रमले ती समस्या केही हदसम्म समाधान हुने उनले बताए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*