स्थानियन्यूज, वैशाख २ गते।
छिमेकी राष्ट्र भारतको बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन। उनी राज्यमा भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता समेत बनेका छन।
लामो समयसम्म बिहारको सत्ता सम्हालेका नीतीश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै सम्राट चौधरीका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। नीतीश कुमारले हालै राज्यसभा सदस्यको रूपमा शपथ लिएका छन।
नीतीश कुमार सन २००० मा पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका थिए। तर, उनको स्थायी कार्यकाल भने नोभेम्बर २००५ बाट सुरु भएको थियो। नयाँ सरकार गठनसँगै सम्राट चौधरीसँगै जनता दल (युनाइटेड) का नेताहरू विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्री पदको शपथ लिएका छन।
बिहारको राजनीतिमा भाजपाको यो उदय र नीतीश कुमारको बहिर्गमनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। भाजपाले बिहार राज्यमा पहिलो पटक आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भएपछि राज्यको आगामी राजनीतिक दिशा बारे सबैको चासो बढेको छ।
Sthaniya News
