स्थानियन्यूज,रौतहट, चैत २७ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिका-५ स्थित स्वास्थ्य चौकीमा देखिएको लापरवाहीप्रति कार्यवाहक नगरप्रमुख अमबेया खातुनले कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
उहाँको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान १० बजेसम्म स्वास्थ्य चौकी बन्द अवस्थामा भेटेपछि तत्कालै कारबाही प्रक्रिया अघि बढाइएको हो। अनुगमनकै क्रममा अनुपस्थित कर्मचारीहरूको हाजिरी काट्ने निर्णय गरिएको छ।

नगरप्रमुख खातुनले यसअघि पटक-पटक सचेत गराउँदा पनि सुधार नदेखिएको भन्दै अब कडाभन्दा कडा कारबाही गरिने स्पष्ट संकेत दिनुभएको छ। “जनताको स्वास्थ्यसँग कुनै सम्झौता हुँदैन,” भन्दै उहाँले स्वास्थ्य सेवामा अनुशासन, जिम्मेवारी र समयपालन अनिवार्य भएको बताउनुभयो।
उक्त घटनापछि स्थानीयबासीले समेत स्वास्थ्य चौकीमा देखिएको लापरवाहीप्रति आक्रोश व्यक्त गर्दै नियमित सेवा सञ्चालनको माग गरेका छन्।
नगरपालिकाले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ। स्थानीय तहको यस्तो सक्रियता र कडाइले सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Sthaniya News
