रौतहट ।
मंसिर २३ गते ।
रौतहटको गढीमाई मन्दिरहरुमा राँगा बलि दिइएको छ । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा बिहान ११ बजेदेखि राँगा बलि दिन थालिएको हो ।
मन्दिरको मूल पूजा समितिले मुसा, बोका, कुखुरा, राँगा र सुँगुरको बलि दिएपछि सर्वसाधारणले भाकल गरेको आधारमा राँगा बलि दिइएको हो। बलिका लागि मन्दिरमा ६२५ राँगा प्राप्त भएको मेला समितिका प्रवक्ता दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन्।
गढीमाई ४ सुन्दरपुरसँगै गढीमाई नपाकै हरैया पलटूवा र धर्मपुर, गरुडा नगरपालिकाको गेडहीगुठी र गढीटोल, कटहरिया नगरपालिकाको बलिरामपुर र दुधियाभार, दुर्गा भगवती गाउँपालिकाको करबोल, वृन्दावन नगरपालिकाको धनगढी, माधवनारायण नपाको माधोपुर, फतुवा विजयपुरको बैरगनिया तथा गुजरा नगरपालिकाको कनकपुरमा पनि बलि दिइएको छ।
पहिलेदेखि आइतवार राँगा बलि र सोमवार बोका बलि दिइने बताइएको भए पनि रौतहटको १५ वटै गढीमाई मन्दिरमा राँगा बलिसँगै सर्वसाधारणले बोका र परेवा बलि दिएका छन्। सोमवार पनि बोका र परेवा बलि दिइने गढीमाई मेला समितिका महेश साहले जानकारी गराएका छन्।
गढीमाई ४ सुन्दरपुरमा ५१ ओटा राँगालाई बलि दिइएको र ५ राँगालाई कान काटेर सार्वजनिक रुपमा छाडिएको मेला आयोजक समितिले जनाएको छ। मेला समितिले बलिका लागि आएका सबै राँगालाई न्यानोमा खानापानीको उचित व्यवस्थापन गरेर राखिएको जनाएको छ।
रौतहटका गढीमाई मेलाहरुमा हजारौँको संख्यामा बोका बलि दिइएको छ। अझ सोमवार बलि दिन बाँकी रहेकाले बलिको संख्या यकीन गर्न अप्ठ्यारो भएको मेला आयोजक समितिको भनाइ छ। साभार : नागरिकन्यूज