दिपेन्द्र जयसवाल बारा, साउन २४ गते।
योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले घोषणा गरेको दुई महिनाको ‘श्रम तथा उत्पादन अभियान’ बारा जिल्लाबाट औपचारिक रूपमा सुरु गरिएको छ । कोल्हबी नगरपालिका वडा नम्बर ९,मा रहेको अरेम्बा बिर्ताबाट सुरु भएको अभियानअन्तर्गत २५ सय विरुवा रोपेर अभियानको रुपमा सुरुआत गरेको हो।
कार्यक्रम वाईसीएल बारा अध्यक्ष सिकेन्द्र कुसवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बारा इन्चार्ज अनिल श्रेष्ठ सहभागी थिए ।

श्रेष्ठले युवाको श्रम, सिर्जना र उत्पादनमा आधारित अभियानले समृद्धिको दिशामा देशलाई डोहोर्याउने विश्वास व्यक्त गरे। “सिर्जनशील श्रम, स्वावलम्बी जीवन र सामूहिक उत्पादनले मात्रै मुलुकको रूपान्तरण सम्भव छ,” उनले भने ।
कार्यक्रममा वाईसीएल मधेस प्रदेश इन्चार्ज देवसरण कानु, बारा इन्चार्ज रुकु पाख्रीन, केन्द्रीय सदस्य राजन पौडेल, प्रदेश सदस्यहरू रविराज दंगाल, तपेश्वर चौधरी, देवेन्द्र पराजुली र निजगढ नगर अध्यक्ष सन्तोष दंगाललगायतको उपस्थिति थियो ।
वक्ताहरूले श्रम र उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा स्थापित गर्दै युवाहरूलाई रचनात्मक अभियानमा सक्रिय बनाउने आवश्यकता औंल्याए । उत्पादन र श्रमप्रतिको अवमूल्यन हटाई त्यसलाई सामाजिक परिवर्तनको आधार बनाउनुपर्नेमा उनीहरूको जोड थियो ।
अभियानअन्तर्गत वृक्षारोपण, सरसफाइ, सामुदायिक उत्पादनमा सहकार्यजस्ता कार्यक्रम सञ्चालन गरिने आयोजकहरूले बताएका छन्। स्थानीय स्तरमै रोजगारी सिर्जना, सामाजिक जागरण र युवाको सिर्जनात्मक क्षमतालाई संगठित गर्नु अभियानको मुख्य लक्ष्य रहेको छ ।
वाईसीएलले सुरु गरेको राष्ट्रिय अभियान आगामी दुई महिनासम्म विभिन्न जिल्लामा चरणबद्ध रूपमा सञ्चालन हुनेछ। यसले ग्रामीण क्षेत्रमा संगठन विस्तार, सामूहिक श्रम, कृषि तथा साना उद्यममा युवाको संलग्नता र वातावरण संरक्षणजस्ता विषयलाई प्राथमिकता दिने बताइएको छ ।
‘श्रम गरौं, उत्पादन बढाऔं, देश बनाऔं’ भन्ने नारासहित सुरु गरिएको अभियानलाई वाईसीएलले युवालाई रचनात्मक यात्रातर्फ डोर्याउने अवसरका रूपमा प्रस्तुत गरेको छ ।
Sthaniya News
