राम विश्वास कुशवाहा
हरिवन -३,सर्लाही, भदौ ७ गते।
हरिवन (सर्लाही) — नेपालकै सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय अखण्डतामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरी भारत र चीनबीच हालै भएको व्यापारिक समझदारीमा नेपालको भूमि लिपुलेक प्रयोग गर्ने सहमति भएको विषयलाई लिएर देशभर आक्रोश छाएको छ। नेपाल सरकारले पटक–पटक लिपुलेक नेपालको अविभाज्य हिस्सा भएको स्पष्ट पारेको भए पनि भारत र चीन दुवैले नेपालको अधिकारको अवहेलना गर्दै यस्तो निर्णय लिएका छन्, जसलाई आपत्तिजनक र अस्वीकार्य मानिएको छ।
यसै विरोधस्वरूप YCL Nepal र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा ८ भदौ २०८२ गते बेलुकी ६ बजे हरिवनको कडरिया चौकमा भव्य मशाल जुलुस सम्पन्न गरिएको छ। कार्यक्रममा सयौँ संख्यामा युवा विद्यार्थी तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो।
मशाल जुलुसको नेतृत्व अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष स्युविल शेख र YCL का जिल्ला अध्यक्ष घमराज श्रेष्ठ ले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका प्रभावशाली नेता अर्जुन पन्त ले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको स्पष्ट पार्दै नेपालको भूमिको रक्षा गर्न सरकारलाई कडा कदम चाल्न आग्रह गर्नुभयो। उहाँले “नेपालको सार्वभौमिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम सह्य हुँदैन, देशको भूमिमा आँच आउन दिइने छैन” भन्ने दृढ धारणा राख्नुभयो। नेता अर्जुन पन्त सानै उमेरदेखि जनताको सेवामा समर्पित रहँदै आएका व्यक्तित्व हुन्। जनताको हकहित, अधिकार र न्यायको पक्षमा निरन्तर संघर्ष गर्दै आउनु भएका पन्तले देशको स्वाधीनता र राष्ट्रिय अखण्डताको सवालमा कहिल्यै सम्झौता नगर्ने अडान राख्दै आएका छन्। उहाँले आफ्नो जीवन जनताको लागि, देशको लागि मरिमेट्दै बिताइरहनुभएको छ। यही कारणले उहाँलाई उपस्थित युवाहरू र स्थानीय नागरिकले राष्ट्रवादी नेतृत्वको प्रतीकका रूपमा खुलेर प्रशंसा गरेका थिए। उहाँको दृढ राष्ट्रभक्ति, स्पष्ट दृष्टिकोण र निडर शैलीले कार्यक्रममा उत्साह र ऊर्जा थपिदिएको थियो।
त्यस्तै, अध्यक्ष शेख र श्रेष्ठले पनि आफ्नो मन्तव्यमा नेपालको चुच्चे नक्साले प्रमाणित गरेको भूभागलाई अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता दिलाउन सरकारले ढिलो नगरी ठोस कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका अन्य वक्ताहरूले लिपुलेकलाई भारत–चीन व्यापारिक नाका बनाउने योजनाले नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डतामा ठूलो धक्का पुर्याउने चेतावनी दिएका थिए।
जुलुसमा सहभागी युवाहरूले “लिपुलेक हाम्रो हो”, “राष्ट्रिय हितमा सम्झौता हुँदैन”, “भारत–चीनको हस्तक्षेप बन्द गर” जस्ता नाराबाजी गरेका थिए। साथै, प्रतीकात्मक रूपमा भारतीय र चिनियाँ हस्तक्षेपकारी नीतिको पुत्ला दहनसमेत गरिएको थियो।
कार्यक्रम भव्यरूपमा सम्पन्न गर्दै आयोजकहरूले सरकारले तत्काल भारत र चीनसँग यो विषयमा कूटनीतिक पहल गरी नेपालको भूमिको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
Sthaniya News
