Breaking News
पत्रकार पटेलले जन्मदिनको अवसरमा अनाथ टुहुरा बालबालिकासँग मिठाइ बाँडी-खाद्यान्न सामाग्री हस्तान्तरण गरे

पत्रकार पटेलले जन्मदिनको अवसरमा अनाथ टुहुरा बालबालिकासँग मिठाइ बाँडी-खाद्यान्न सामाग्री हस्तान्तरण गरे

रौतहट, १२ भदौ । जन्मदिनलाई होटल, रेष्टुरेन्ट वा महँगो भोजमा मात्र खर्च नगरी समाजसेवामार्फत पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मदिन अनाथ टुहुरा बालबालिकासँग मनाएका छन्।

रौतहटको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया निवासी तथा मधेश मिडिया प्रा.लि. अध्यक्ष र रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका पत्रकार पटेलले बिहीबार बिहान रौतहटको गरुडा नगरपालिका–४ मा अवस्थित बंशीराम जयसवाल अनाथालयमा पुगेर २६ जना बालबालिकासँग जन्मदिनको खुशी साटासाट गरेका हुन्।

उहाँले बालबालिकासँग मिठाइ बाँड्नुका साथै चामल, दाल, आलु, प्याज, तेल, साबुन, नुहाउने सामग्री, चकलेट, बिस्कुट, चाउचाउ, चिउरा, चिनी लगायत खाद्यान्न र दैनिक उपभोग्य सामग्री समेत हस्तान्तरण गरेका थिए।

“आफ्नो जन्मदिनमा महँगो होटलमा केक काटेर लाखौं रुपैयाँ खर्च गर्नेभन्दा अनाथ टुहुरा बालबालिकाको अनुहारमा खुशी ल्याउन सके यही सबैभन्दा ठूलो पुण्य हो,” पत्रकार पटेलले भने।

अनाथालयमा रहेका बालबालिकाको कठिनाइलाई प्रत्यक्ष अवलोकन गर्दै उनले थपे, “यहाँका स-साना बाबुनानीहरूसँग भेट्दा मलाई एकछिन भएपनि वास्तविक जीवनको गहिरो अर्थ महसुस भयो। आफ्नो सन्तानलाई हेर्न पनि अभिभावकलाई कति कठिन हुन्छ भने यहाँका २६ जना बालबालिकालाई एकसाथ हेरचाह गर्नु कस्तो कठिन कार्य होला भन्ने कुरा म कल्पना पनि गर्न सक्दिन।”

स्व. बंशीराम जयसवालले स्थापना गरेको यो अनाथालय संस्थापकको निधनपछि पनि निरन्तर सञ्चालनमा छ। अनाथालयमा रहेका बालबालिकाले पत्रकार पटेललाई अभिभावकको अभावका कारण पर्न सक्ने कठिनाइ र दैनिक खर्च जुटाउनुपर्ने समस्याबारे बताएका थिए।

युवा पत्रकार पटेलले आफ्नो जन्मदिनमा अनाथालयलाई सहयोग गर्दै समाजलाई सन्देशसमेत दिएका छन्। उनले भने, “तपाईहरूको जन्मदिन, विवाह वा अन्य खुशीका अवसरहरूमा अनावश्यक खर्च नगरी असहाय र टुहुरा बालबालिकासँग खुशी बाँड्नुहोस्। हामीले दिएको सानो सहयोगले पनि उनीहरूको अनुहारमा ठूलो मुस्कान ल्याउन सक्छ।”

समाजसेवामा रुचि राख्ने जोकोहीका लागि यस्तो कार्य प्रेरणादायी बन्न सक्ने पत्रकार पटेलले विश्वास व्यक्त गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*