रौतहट,असोज १९ गते ।
अविरल वर्षा र बाढीका कारण प्रभावित रौतहटका विभिन्न बस्तीहरूको जनमत पार्टीका प्रदेश सभा सदस्यका प्रत्याशी मोहम्मद आलम उर्फ बाबू साहेबले स्थलगत निरीक्षण गरेका छन्।
बाबू साहेबले विशेष रूपमा दमार, बलुवा, बनजरहवा, औरैया, डुमरिया, राजपुर, अकोलवा लगायतका बाढीपीडित गाउँहरूमा पुगेर स्थानीयवासीहरूको अवस्था बुझेका हुन्। ती सबै क्षेत्र अहिले पूर्ण रूपमा डुबानमा परेका छन्, जसले किसानका बाली, घर, नाली र बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ।

उनका अनुसार, हालको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त भएको छ भने लालबकैया खोलाको बाँध भत्किँदा बाढीको पानी तीव्र गतिमा बस्तीहरूमा पसेर ठूलो क्षति पुर्याएको छ।
स्थानीयहरूसँगको भेटमा बाबू साहेबले भने,
“यो अत्यन्तै दुःखद र पीडादायक अवस्था हो। यस कठिन घडीमा म सम्पूर्ण प्रभावित परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु।”
उनीले सरकारसँग तत्काल राहत वितरणको व्यवस्था मिलाउन र भत्किएका बाँधहरूको मर्मत–सम्भारका लागि शीघ्र पहल गर्न माग गरेका छन्।

अविरल वर्षाका कारण उत्पन्न भीषण बाढीले रौतहटका किसानहरूमा असह्य पीडा थपेको छ।
दिनरात पसिना बगाएर जीवनको आधार मानेको धानबाली अहिले पानीमा डुबेर पूर्णरूपमा नष्ट भएको छ। घरभित्र भित्र्याउने तयारीमा रहेका बालीहरू बाढीको पानीसँगै बग्दा किसानहरू निराश र शोकाकुल बनेका छन्।
आफ्नो मेहनत, आशा र परिश्रम क्षणभरमै बगाएको दृश्यले उनीहरूको मनमा आँसु उम्लिएको छ। पीडित किसानहरूले सरकारसँग कुनै किसिमको भेदभाव वा ढिलासुस्ती नगरी तत्काल क्षतिपूर्तिसहित उचित राहत उपलब्ध गराउन माग गरेका छन्।
किसानहरू भन्छन् “हामीले पसिना झारेर उत्पादन गरेका बाली बग्दा अब परिवार पाल्ने आधारसमेत हरायो, सरकारले हाम्रो पीडा बुझोस्।”
Sthaniya News
