आरएन पटेल,रौतहट, फागुन ०४ गते।
रौतहटको बौधिमाई नगरपालिका-१ अजगैबीमा निःशुल्क प्रजनन स्वास्थ्य तथा VIA परीक्षण शिविर सम्पन्न भएको छ। पालिकाको स्वास्थ शाखाको आयोजनामा वडा नं. १ अजगैबी टोलमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी प्रजनन स्वास्थ्य जाँच तथा VIA विधिबाट पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

स्वास्थ्य शिविर वडा अध्यक्ष रामजोधी राउत कुर्मीको अध्यक्षतामा तथा नगर प्रमुख प्रदीप यादवको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वास्थ्यकर्मीहरूले VIA (Visual Inspection with Acetic Acid) विधिबाट पाठेघरको मुखको क्यान्सरको सुरुवाती अवस्था पहिचान गर्ने परीक्षण गरेका थिए। यस विधि सरल, प्रभावकारी तथा कम खर्चिलो भएकाले ग्रामीण भेगमा प्रारम्भिक जाँचका लागि उपयुक्त मानिन्छ। शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा थप उपचार आवश्यक पर्नेहरूलाई सिफारिस समेत गरिने पालिकाको स्वास्थ संयोजक तारकेश्वर प्रसाद पटेलले जनाएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वडा अध्यक्ष कुर्मीले पनि महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै सचेतना नै रोगबाट बच्ने मुख्य उपाय भएको बताउनु भयो।
स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य शिविरले गाउँमै सहज सेवा प्राप्त भएको भन्दै नगरपालिका प्रति आभार व्यक्त गरेका छन।
Sthaniya News
